बुटवल हस्पिटल प्रा.लि.मा लेजर प्रविधिबाट पायल्सको उपचार सेवा सुरु गरिएको छ । नयाँ प्रविधि भित्रिएसँगै अब बिना चिरफार पायल्ससहित विभिन्न रोगको उपचार गर्न सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद खनालले बताउनु भयो ।
लेजर प्रविधिबाट विशेषगरी पायल्स, फिस्टुला, फिसर, पाइलोनाइडल साइनस र खुट्टाको भेरिकोज भेनको उपचार सम्भव भएको हो । उपचारमा संलग्न विशेषज्ञ डा. बिर्खराज जोशीका अनुसार लेजर मेसिनबाट उपचार गर्दा बिरामीको अस्पताल बसाइ छोटो हुने, रक्तस्राव र पीडा न्यून हुने भएकाले यो प्रविधि तुलनात्मक रुपमा धेरै राम्रो छ ।
उपचारपछि दुई–तीन दिनमै बिरामी सामान्य अवस्थामा फर्किने भएकाले यसको माग पनि दिनप्रतिदिन बढिरहेको डा. जोशी बताउनु हुन्छ । खानपान र जीवनशैलीको कारण पायल्स तथा भेरिकोज भेनका बिरामीहरू बढिरहेको सन्दर्भमा लेजर प्रविधिबाट उपचार सहज भएको अस्पतालका अध्यक्ष चुन्नप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार समयसापेक्ष प्रविधि आवश्यक परेकाले अस्पतालले उपकरणहरू परिष्कृत गर्दै सेवा विस्तार गरिरहेको छ ।
सूचना प्रविधिको वर्तमान युगमा शरीरका विभिन्न अंगहरूमा लेजर प्रविधिबाट शल्यक्रिया गर्ने चलन बढ्दो छ । विशेष प्रकारको प्रकाश प्रयोग गरी सो अंगमा विकिरणमार्फत शल्यक्रिया गरिने यस प्रविधिको प्रयोग हाल आँखा, नाक, कान, घाँटी, मृगौला, ब्रेन ट्युमर, पाठेघर आदि अंगको उपचार हुँदै आएको छ ।
बुटवल–६ चाँदवारीचोक नजिकै आफ्नै भवनबाट सेवा दिँदै आएको बुटवल अस्पताल प्रालिले अत्याधुनिक उपकरण, दक्ष जनशक्ति र स्तरीय पूर्वाधारमार्फत सेवा उपलब्ध गराइरहेको अध्यक्ष पौडेल बताउनु हुन्छ । यसले गर्दा बिरामीलाई बुटवल बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने उहाँले बताउनु भयो ।