सिस्नेको पोखरा स्वास्थ्य चौकीमा उपेक्षित उष्ण प्रदेशीय रोगहरु सम्बन्धि एक दिने अभिमुखीकरण तालिम गरिएको छ ।
रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिका वार्ड नं ३ स्थित पोखरा स्वास्थ्य चौकीमा सिस्ने गाउँपालिकाको आयोजना तथा मिक नेपाल/ सम्बोधन परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा यही साउन २२ गते, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको लागि एक दिने तालिम सञ्चालन गरिएको हो ।
सो अभिमुखीकरण तालिममा सिस्ने ३ र ४ नं वडाका जम्मा ९ जना स्वयंसेविका सहभागि थिए । सो कार्यक्रमको सहजीकरण सिस्ने गाउँपालिका स्वास्थ्य संयोजक सुरेन्द्र प्रसाद यादव र पोखरा स्वास्थ्य चौकी प्रमुख ज्ञानी ओलीले गर्नुभएको थियो।
कार्यक्रमका सहभागीलाई नेपालमा देखिएका १० प्रकारका उष्ण प्रदेशीय रोगहरु ( कुष्ठ रोग, हात्तीपाइले, कालाजार, रेबिज, सर्पदंश, डेङ्गु, जुका, लुतो, आदि) को बारेमा जानकारी दिइएको थियो । जसमा विशेषगरी समुदायस्तरमा यस्ता रोगहरुको पहिचान गर्ने विधी र संकास्पद व्यक्तिहरूलाई स्वास्थ्य संस्थामा प्रेषण गर्न आवश्यक परामर्श लाई जोड दिइएको थियो ।
कार्यक्रममा ४ नं वडाका अध्यक्ष्य हेराम खड्काले सामान्य परामर्शले पनि समुदायमा गहिरो प्रभाव पार्ने कुरा औंल्याउँदै स्वास्थ्य सम्बन्धी यस्ता तालिमले स्वयंसेविका लाई प्राथमिकता दिएकोमा खुसी व्यक्त गर्नुभयो । समुदायको स्वास्थ्य अवस्था त्यहाँ रहेका स्वयंसेविकाको परिचालन, ज्ञान र सिपसंग जोडिएको हुनाले अवश्य पनि फलदायी हुने उहाँको भनाई थियो ।
यस्तै सिस्ने गाउँपालिका स्वास्थ्य संयोजक सुरेन्द्रप्रसाद यादवले तालिम सञ्चालनको लागि सहयोगी भूमिका निर्वाह गर्ने मिक नेपाल/ सम्बोधन परियोजना प्रति आभार व्यक्त गर्दै तालिमबाट सिकेका ज्ञान र सिपलाई समुदायस्तरमा चेतना वृद्धि गर्न प्रयोग गर्न स्वयंसेवकलाई सल्लाह दिनुभएको थियो ।
कार्यक्रममा फेयरमेड फाउन्डेसन नेपालका समावेशी तथा स्वास्थ्य प्रवर्धन अधिकृत दान बहादुर कार्की, मिक नेपालका सम्पर्क व्यक्ति मुकुन्द पुन लगायतले आआफ्नो भनाई राख्नु भएको थियो भने कार्यक्रम मिक नेपाल/ सम्बोधन परियोजनाका प्राविधिक अधिकृत मदन शर्मा सञ्चालनमा सम्पन्न भएको थियो ।