कांग्रेस बैतडीको जिल्ला सभापतिमा संस्थापन पक्षका नरेन्द्रसिंह थापा निर्विरोध चयन भएका छन् । सोमबार जारी अधिवेशनबाट थापा सभापतिमा निर्विरोध भएका हुन् ।सचिव र कोषाध्यक्षमा भने मतदान भएको छ । सचिवमा रमेश भण्डारी, रमेश कोली, वीरबहादुर बिष्ट र घनश्याम भट्टबीच प्रतिस्पर्धा भइरहेको छ । कोषाध्यक्षमा टेकराज जोशी र रमेश पाण्डेय भिडेका छन् ।नेपाली कांग्रेस मकवानपुरको सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । मकवानपुर क्षेत्र नं १ का सांसद् बानिया बरिष्ठ नेता शेरबहादुर देउवापक्षीय हुन् ।बानियाले ३ सय ७८ मत पाए भने अर्का प्रत्याशी रघुरमण न्याैपानेले १ सय १० र प्रभात दाहालले १ सय ९ मत पाए । न्यौपाने र दाहाल दुवै संस्थापन पक्षका हुन् ।नेपाली कांग्रेस जिल्ला कार्य समिति मनाङको सभापतिमा पुनः टेकबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । नयाँ कार्य समिति सवै देउवा पक्षका हुन् ।पूर्व श्रममन्त्री समेत रहेका टेकबहादुर १२ औँ महाधिवेशनमा पनि सभापतिमा चयन भएका थिए । तल्लो मनाङको धारापानी ९, घेलाञ्चोकमा सोमबार सम्पन्न अधिवेशनले सदस्यमा प्रायः नयाँ अनुहार चयन गरेका छन् । सचिवमा सुरेन्द्र गुरुङ र कोषाध्यक्षमा कर्म गुरुङ चयन भएका छन् । सुरेन्द्र दोहोरिएका हुन् भने कर्म नयाँ अनुहार हुन् ।