आम्दा अस्पतालमा शैक्षिक भवन उद्घाटन

1.3K

आम्दा अस्पतालमा शैक्षिक भवन उद्घाटन

बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा शैक्षिक भवन उद्घाटन गरिएको छ । अस्पतालको २७ औं वार्षिकोत्सवको अवसरमा उक्त भवन उद्घाटन गरिएको हो । २०५५ कार्तिक १६ गते स्थापना भएको आम्दा अस्पतालको शनिबार सम्पन्न वार्षिकोत्सवमा शैक्षिक भवन निर्माणमा सहयोगी दाताबाट भवनको समुद्घाटन, सहयोगी संस्थाहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले आम्दा अस्पताल बुटवललाई बालबालिका र महिलाहरको लागि विशिष्टीकृत अस्पताल बनाउने र आम्दा सवास्थ्य विज्ञान प्रतिष्ठानलाई मेडिकल कलेजको रुपमा विकास गर्न डिपिआर प्रक्रिया भईरहेको बताउनु भयो । त्यसैगरी उपप्रमुख सावित्रादेवी अर्यालले आम्दा अस्पताल बुटवलको आवश्यकतालाई बुटवल उपमहानगरपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउनु भयो ।
अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले संघले अस्पतालको स्थापना र त्यसयता यसको विकासको लागि काम गर्दै आएको बताउनु भयो । उहाँल चालु आर्थिक वर्षमा अस्पतालमा आउने सेवाग्राहीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन त्रिपक्षिय रुपमा हुने निर्णय र त्यसको कार्यान्वयनमा संघको तर्फबाट प्रतिवद्धता व्यक्त गर्नुभयो । आम्दा नेपाल, बुटवल उद्योग वाणिज्य संघ र बुटवल उपमहानगरपालिकाको त्रिपक्षिय समझदारी र आर्थिक सहयोगमा २०५५ साल कात्तिक १६ गते बुटवलमा आम्दा अस्पतालको स्थापना गरिएको थियो ।
कार्यक्रमका शैक्षिक भवन निर्माणमा सहयोगी आम्दा माइन्ड्स जापानका अध्यक्ष सुन्सके सुजुकीले नवनिर्मित ३ कोठे शैक्षिक भवनको उद्घाटन गर्दै नेपाली विद्यार्थीहरुको शिक्षामा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो । ३२ लाख रुपैयाँ लागत खर्चमा सम्पन्न शैक्षिक भवनका लागि आफू लगायत जापानी नागरिकहरुको सहयोग रहेको बताउँदै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रमका सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपरिंटेन्डेन्ट डा. बिनोद पराजुलीले सिमित स्रोत साधनका बावजुध अस्पताल गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताउनु भयो । उहाँले आम्दा जापान, आम्दा नेपाल, बुटवल उपमहानगरपालिका, बुटवल उद्योग बाणिज्य संघ सहित स्थानीय सामाजिक संघ संस्थाहरुको सहयोगमा अस्पतालमा देखिएका चुनौतिहरुको समाधान गर्दै आगामी योजना सम्पन्न गर्ने गरि कार्य अगाडि बढाइएको बताउनु भयो ।
यसै विच आम्दा अस्पताल बुटवललाई विभिन्न विधामा सहयोग गर्ने संस्थाहरु आम्दा माइन्ड्स जापान, आम्दा ह्रोगो जापान, बुटवल उपमहानगरपालिका वडा नम्बर ७ वडा कार्यालय, प्रहरी चौकी श्रवणपथ, शिवनगर सामुदायिक वन उपभोक्ता समिति, रोटरी क्लब अफ बुटवल डाउनटाउन, लायन्स क्लब अफ सिद्धार्थनगर युथ, र लायन्स क्लब अफ बुटवल मखमलीलाई सम्मान गरिएको थियो ।
आम्दा अस्पताल बुटवलका एचआर देवप्रसाद खनालको संचालन तथा मेट्रोन कल्पना विश्वकर्माको स्वागतमा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाका पूर्व मेयर शिवराज सुवेदी, स्थानीय जनप्रतिनिधि, विभिन्न सामाजिक संस्थाका प्रमुख एवं प्रतिनिधि, सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलका डाक्टर, नर्स कर्मचारी, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
मिति २०५५ साउन १९ गते आम्दा नेपाल, बुटवल उपमहानगरपालिका र बुटवल उद्योग वाणिज्य संघबिच त्रिपक्षीय सम्झौता भई तत्कालिन बुटवलका मेयर स्वर्गीय सुर्यप्रसाद प्रधानको पहलमा बुटवलमा सिद्धार्थ बाल तथा महिला अस्पताल स्थापना गरिएको हो । २०५५ असोज २१ गते स्वास्थ्य सेवा विभागबाट बाहिरी बिरामी सेवा संचालनका लागि स्वीकृति पाएपछि २०५५ कार्तिक १६ गतेबाट ओपिडि सेवा सुरु गरेको थियो र यसै दिनलाई आम्दा बुटवलले स्थापना दिवस मनाउँदै आएको छ ।
हाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले बालबालिका र महिला स्वास्थ्य सेवाहरुका लागि एक विशिष्टीकृत स्वास्थ्य संस्थाको रुपमा विश्वसनीयता हासिल गरेको छ । यस अस्पतालमा रुपन्देही लगायत कपिलबस्तु, नवलपरासी, नवलपरासी पूर्व, पाल्पा, गुल्मी अर्घाखाँची, स्याङ्जा, प्युठान, रोल्पा, दाङ, रुकुम पूर्व पश्चिम जिल्लाका साथै भारतका बिभिन्न स्थानबाट बिरामीहरु सेवाका लागि आउने गरेका छन् ।
एक सय शैयामा सञ्चालन गर्दै आएको यस आम्दा बुटवललाई ३ सय शैयामा बनाउन डिपिआर प्रक्रिया कार्य भईरहेको छ । गैर नाफामूलक उद्धेश्यका साथ संचालन गरिएको यो अस्पतालले विशेष गरि विपन्न, सिमान्तकृत वर्गका बालबालिका, महिला लगायतको स्वास्थ्यमा सुधार ल्याउने कार्यमा तल्लिन रहेको छ । स्वास्थ्य सेवामात्रै नभएर विपन्न र सिमान्तकृत समुदायका विद्यार्थीलाई लक्षित गरि बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य संघ, आम्दा इन्टरनेशनल र आम्दा नेपालको संयुक्त सहकार्यमा शैक्षिक सत्र २०८० बाट प्यारामेडिकल अध्यानका लागि आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालन गरिएको छ । आम्दा अस्पताल बुटवलको कम्पाउण्ड भित्र रहेकोे उक्त प्रतिष्ठानमा पिसिएल नर्सिङ डिप्लोमा, फार्मेसी डिप्लोमा र जनरल मेडिसिन(एचए) डिप्लोमा गरि तीनवटा विषयका कार्यक्रमहरु संचालन गरिएको छ ।