सरकारले चुनाव गराउने लक्षण छैन, संसद पुनःस्थापना भए निकास निस्किन्छ – उपाध्यक्ष पौडेल

1.3K

सरकारले चुनाव गराउने लक्षण छैन, संसद पुनःस्थापना भए निकास निस्किन्छ – उपाध्यक्ष पौडेल

एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले संसद पुनःस्थापना गर्दा राजनीतिक निकास निस्कने बनाउनु भएको छ । उहाँले सरकारले निर्वाचनको मिति तोके पनि निर्वाचन तयारीका काम नभएकाले चुनाव हुनेमा आशंका व्यक्त गर्दै संसद पुनःस्थापना उपयुक्त समाधान हुने बताउनु भएको हो ।
प्रेस चौतारी नेपाल, रुपन्देही बुधबार बुटवलमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै वर्तमान राजनीतिक निकासका लागि संसद पुनःस्थापना, पुनःस्थापित संसदद्वारा संविधान संशोधन गरेर सांसद नभएका व्यक्ति पनि प्रधानमन्त्री वा मन्त्री बन्न मिल्ने व्यवस्था र त्यसको आधारमा सरकार गठन गर्ने र त्यो सरकारले चुनाव गराउनु पर्ने बताउनु भयो । तर चुनाव हुन्छ भने एमाले चुनावमा जान पनि तयार रहेको बताउनु भयो ।
चैत २१ मा निर्वाचनको तय मिति भए पनि सरकारले निर्वाचन गराउने तर्फ लाग्ने संकेत नदेखिएको उहाँको भनाई छ । नेता पौडेलले भन्नुभयो–“सरकारले निर्वाचन गराउने लक्षण देखाएको छैन । निर्वाचनको तयारी केही भएको छैन । सुरक्षा व्यवस्था लगायतका कुरामा सरकार संवेदनशिल देखिदैन, यी यावत कारणले निर्धारित मितिमा चुनाव हुन गाह्रो देखिन्छ । तर निर्वाचन हुँदा एमाले चुनावमा जानेछ ।”
जेन–जी आन्दोलनका क्रममा जेन–जी आन्दोलनका क्रममा सरकारी संयन्त्र कहाँ नेर चुकेको छ, त्यसको निश्पक्ष छानविन गरी दोशीको पहिचान गर्नुपर्ने, त्यस्तै सरकारी तथा निजी संरचना तथा सम्पत्तिमा तोडफोड तथा आगजनी गर्नेलाई सुक्ष्म ढंगले छानविन गरेर दोही पहिचान गर्नुपर्ने र पहिचान भएका दोशी उपर कडा कारवाही हुनुपर्ने भनाई उहाँले राख्नुभयो ।

पूर्व राष्ट्रपति भण्डारीको सदस्यता विवाद उचित समयमा निरुपण हुन्छ

उहाँले पार्टीकी उर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता विवाद उचित समयमा उचित ढंगले निरुपण हुने बताउनु भयो । “पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको विवाद उचित समयमा उचित ढंगले निरुपण हुनेछ ।” उहाँले भन्नुभयो–“पूर्वराष्ट्रपति पुनः राजनीतिमा आउनु पर्ने वा आउन नहुने विषय आपसी छलफलको विषय हो–हामी छलफलमै छौं ।”
उहाँले पार्टीभित्र विद्या भण्डारीको सदस्यता नविकरणसम्बन्धी विषयले धेरै ठूलो बहस निम्त्याएको स्वीकार गर्दै, त्यसलाई छलफलबाट समाधान गरिने बताउनु भएको हो । “उहाँहरु (अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारी) बिचको आपसी सम्बन्ध र सहकार्य मलाई जती अरु कसैलाई थाहा नहोला ।” उपाध्यक्ष पौडेलले भन्नुभयो– “पूर्व राष्ट्रपतिको पार्टी सदस्यता नविकरणको विषय धेरै ठूलो बहसको विषय बनेको छ । अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारी बिच ठूलो मनमुटावको रुपमा चित्रण गरिएको छ । यो सत्य होईन । उहाँहरु बिचको आपसी सम्बन्ध र सहकार्य एकदमै राम्रो छ । मनमुटाव र कटुता छैन ।” उपाध्यक्ष पौडेलले आगामी कात्तिक २७ देखि २९ सम्म काठमाण्डौंमा हुने पार्टीको ११ औं राष्ट्रिय महाधिवेशन चामत्कारिक रुपमा एकताका साथ सम्पन्न हुने पनि विश्वास व्यक्त गर्नुभयो ।