गरिमा विकास बैंकको स्थापना दिवस : बुटवलमा रक्तदान

1.3K

गरिमा विकास बैंकको स्थापना दिवस : बुटवलमा रक्तदान

गरिमा विकास बैंकले स्थापना दिवसमा विविध कार्यक्रम गरि मनाएको छ । बैंकको १९ औं स्थापना दिवसको अवसरमा शनिबार रक्तदान लगायतका सामाजिक सेवाका कार्यक्रम गरेको हो ।
स्थापना दिवसको अवसरमा बैंकको बुटवल शाखामा रक्तदान गरिएको छ । प्रदेश कार्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा १०१ जनाले रक्तदान गरेको बैंकले जनाएको छ । रक्तदान कार्यक्रम बैंकका प्रदेश कार्यालय प्रमुख लेखनाथ भट्टराईको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपानेको अतिथ्यतामा भएको रक्तदान कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा गरिएको थियो ।
बैंकको बुटवल शाखा प्रमुख हिरामणी पराजुलीका अनुसार बुटवल उपमहानगरपालिका वडा नं. ६ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयलाई ३ थान किताव राख्ने दराज प्रदान गरिएको छ । त्यसैगरी बैंकको भैरहवा शाखाले देवदह नगरपालिका वडा नं. ९ मा रहेको सन्दिप आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । बैंकले उक्त विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीलाई ट्रयाकसुट वितरण गरिएको भैरहवा शाखाका प्रमुख सुरज भट्टराईले जानकारी गराउनु भयो ।
त्यस अवसरमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहनबहादुर जिसीले आफ्नो विद्यालय छनौट गरेर बालबालिकालाई न्यानो कपडा वितरण गरेकामा खुसी व्यक्त गर्दै धन्यवाद सहित बैंकलाई सम्मान पत्र प्रदान गर्नुभयो ।
त्यस अवसरमा बैंकका प्रदेश कार्यालय प्रमुख भट्टराईले बैंकले सामाजिक उत्तरदायित्व बहन गरेर रगतको अभाव हुन नदिन रक्तदान सहित सामाजिक सेवाका कार्यक्रम गरिएको बताउनु भयो । उहाँले बैंकको नाफाबाट १ प्रतिशन सामाजिक काममा खर्च गर्ने नीति अनुसार सामाजिक सेवाका कार्यक्रम गरिएको बताउँदै आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यक्रम गरिने बताउनु भयो । कार्यक्रममा खैरेनी शाखा प्रमुख कविता शर्मा, सुनवाल शाखाका प्रमुख यज्ञ न्यौपाने लगायतको सहभागिता रहेको थियो ।