काठमाडौं । नेपाली राजनीतिक इतिहास र नेपाली कांग्रेसको नेतृत्व इतिहासमा कुशल तथा सफल नेताको छवि बनाएका सादग नेता सुशील कोइरालाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार दिनभर त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा राखियो । विगत झैं पूर्व प्रधानमन्त्रीको सम्मान कोइरालाले पाएका छन् । सधैं खेलकुद हेर्न रंगशाला भरिने गरेकामा मंगलबार फेरि एक पटक एक राजनेताप्रति शोक मनाउनेहरुले भरियो विगत झैं ।
विगतमा कांग्रेसकै सन्त नेता कृष्णप्रसाद भट्टराई हुन् वा शिखर पुरुष गिरिजाप्रसाद कोइराला । यस्तै, पूर्व प्रधानमन्त्री सूर्यवहादुर थापालगायतलाई राजकिय सम्मान अघि यसरी नै रंगशालामा राखियो । कांग्रेस सभापति सुशील कोइरालालाई पनि सम्झनेको कमि रहेन । छिमेकी राष्ट्रका विदेशमन्त्रीसहित विभिन्न दलका नेताहरु श्रद्धान्जली दिन दशरथ रंगशाला पुगे । उपत्यकाका कुनै टोलबासी छुटेनन् ।
सबैले संविधान निर्माण श्रेय कोइरालालाई दिएका छन् । यस्तै, गणतन्त्र नेपालका अन्य प्रधानमन्त्रीको तुलनामा निकै सफल, शील, शालीन र सामान्य जीवन व्यक्तित्वको रुपमा कोइरालालाई सम्झिएका छन् । कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरु कोइरालाको निधनले मलिन भएका छन् । कोइराला सहयात्रीहरुले सिंगो मुलुकलाई अपुरणीय क्षति पुगेको बताएका छन् ।