राष्ट्रिय सभामा काँग्रेस–एमाले तालमेल

1.3K

राष्ट्रिय सभामा काँग्रेस–एमाले तालमेल

राष्ट्रिय सभा निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेबीच तालमेल हुने निश्चित भएपछि सबै प्रमुख दल मिलेर चुनाव लड्ने प्रयास भत्किएको छ । काँग्रेस र एमालेले भागबण्डा गरेर उम्मेदवार उठाउने सहमति गरेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) यो गठबन्धनबाट अलग भएको छ ।
राष्ट्रिय सभाका रिक्त १८ सिटका लागि हुने निर्वाचनमा काँग्रेसले ९ र एमालेले ८ उम्मेदवार उठाउने निर्णय गरेका छन् । मधेश प्रदेशमा तेस्रो शक्तिका रूपमा रहेको जनता समाजवादी पार्टी नेपाललाई एक सिट दिने सहमति समेत भएको छ । बाँकी प्रदेशमा काँग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी दलका रूपमा चुनावी मैदानमा उत्रिने भएका छन् ।
दुई प्रमुख दलबीच तालमेल भएपछि नेकपा एक्लै निर्वाचनमा जाने निर्णय लिएको छ भने उम्मेदवार तय गरिसकेको छ । पार्टीका नेता प्रकाश ज्वालाले काँग्रेस र एमालेसँग गठबन्धन नहुने स्पष्ट गर्दै सबै ठाउँमा आफ्नै तर्फबाट उम्मेदवारी दिने बताउनु भएको छ ।
आगामी माघ ११ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भइसकेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिका प्रमुख–उपप्रमुख मतदाता रहने व्यवस्था छ । सातै प्रदेशका प्रदेश सभा सदस्य र ७५३ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी १ हजार ५०६ जनाले मतदान गर्नेछन् ।
प्रदेशगत रूपमा कोशी र लुम्बिनीबाट ३–३ जना, मधेशबाट ४ जना, बागमती र गण्डकीबाट २–२ जना तथा कर्णाली र सुदूरपश्चिमबाट २–२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ । एक सिट भने मनोनयनमार्फत पूर्ति गरिनेछ ।
मतभारका हिसाबले अधिकांश प्रदेशमा काँग्रेस र एमाले मिल्दा स्पष्ट बहुमत पुग्ने देखिन्छ । यसकारण आन्तरिक अन्तर्घात नहुने हो भने यी दुई दलले राष्ट्रिय सभाको निर्वाचनमा बलियो स्थिति बनाउने विश्लेषण गरिएको छ ।
दुई पार्टीबीच चुनावी तालमेल गरेका नेपाली काँग्रेस र नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएर उम्मेदवारी दिईसकेका छन् । नेपाली काँग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि ९ जना उम्मेदवार चयन गरेको छ । काँग्रेसका अनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य), मधेश प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रञ्जित कर्ण (अपाङ्गता÷अल्पसंख्यक), बागमती प्रदेशबाट गीता देवकोटा (महिला) उम्मेदवार बनाइएका छन् ।
यसैगरी गण्डकी प्रदेशबाट जगत तिमिल्सिना (अन्य), लुम्बिनी प्रदेशबाट बासुदेव घिमिरे ‘जंगली’ (अपाङ्गता) र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही (अन्य) तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती (अन्य) काँग्रेसका उम्मेदवार छन् ।
यसैबीच नेकपा एमालेले पनि राष्ट्रिय सभा निर्वाचनका लागि ८ जना उम्मेदवारको नाम टुंगो लगाएको छ । १८ सदस्यका लागि हुन लागेको निर्वाचनमा एमालेले कोशी प्रदेशबाट रोशनी मेचे र सोम पोर्तेल, मधेश प्रदेशबाट रेखा झा, बागमती प्रदेशबाट प्रेम दंगाल र गण्डकी प्रदेशबाट सम्झना देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यसैगरी लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, कर्णाली प्रदेशबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लिला भण्डारी एमालेका उम्मेदवार रहेका छन् ।