नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशन बिहीबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनमा लुम्बिनी प्रदेशका डेरी उद्योगको वर्तमान अवस्था, सम्भावना, समस्या तथा भावी कार्ययोजनाबारे गहन छलफल गरिएको छ ।
सभामा नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपानेले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा लुम्बिनी प्रदेश दुग्ध उत्पादनका हिसाबले देशकै अग्रणी रहेकाे उल्लेख गरिएकाे छ । प्रदेशमा करिब २ सय डेरी उद्योग दर्ता भई सञ्चालनमा रहेका छन् भने करिब १ हजार साना तथा घरेलु डेरी व्यवसाय सञ्चालनमा छन् । दैनिक करिब १५ लाख लिटर दूध उत्पादन हुने गरेकोमा आधा औपचारिक र आधा अनौपचारिक रूपमा खपत हुँदै आएको छ । यस क्षेत्रबाट करिब एक लाख परिवार प्रत्यक्ष रूपमा आश्रित छन् ।
प्रतिवेदनमा डेरी उद्योगको व्यवस्थापन तथा बजार सन्तुलनका लागि लुम्बिनी प्रदेशमै दूध पाउडर प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढेको जानकारी दिइयो । आगामी वर्ष स्थानीय सरकारसँग सहकार्य, डेरी उद्योगको स्तरोन्नति, तालिम, पुरस्कार, गुणस्तर प्रवर्द्धन, निर्यात पहल तथा लुम्बिनी प्रदेश दुग्ध विकास बोर्ड स्थापना गर्न पहल गर्ने लक्ष्य लिइएको छ ।
सभामा डेरी उद्योगमा प्रयोग हुने मेसिनरीमा भन्सार छुट, विद्युत महसुलमा सहुलियत, व्याज अनुदान, स्टक धितोका आधारमा ऋण सुविधा तथा डेरी प्राविधिक जनशक्ति उत्पादन लगायतका राष्ट्रिय समस्या समाधानका लागि सरकारसँग माग गरिएको छ । अध्यक्ष न्यौपानेले संघले किसान, उद्योगी र उपभोक्ताबीच सेतुको भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख रमेश आचार्यले कृषि तथा डेरी व्यवसायका लागि सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि संशोधन गरी हाल ३ प्रतिशत ब्याजदर कायम गरिएको जानकारी दिनुभयो । योग्य व्यवसायीले सुविधा नपाएको अवस्थामा राष्ट्र बैंकमा आउन आग्रह गर्दै, बिक्रीयोग्य स्टक धितोमा कर्जा उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल डेरी एसोसिएसनका पूर्व केन्द्रीय अध्यक्ष मेघराज भण्डारीले डेरी क्षेत्रबाट राष्ट्रिय जिडिपीमा ९ प्रतिशत योगदान, करिब ६ लाख रोजगारी सिर्जना तथा वार्षिक करिब १ अर्ब रुपैयाँ राजस्व योगदान भइरहेको उल्लेख गर्नुभयो । केन्द्रीय सहकारी संघका केन्द्रीय सदस्य हरि काफ्लेले दूध उत्पादन घट्दै गएको र यही अवस्था कायम रहे गर्मी सिजनमा कच्चा दूधको अभाव हुन सक्ने चेतावनी दिनुभयो ।
नेपाल दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजनाका प्रमुख कृष्णप्रसाद अर्याल, पत्रकार हरिष ढकाल तथा डेरी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष विष्णु पाण्डेले दूध उत्पादन लागत घटाउनुपर्नेमा जोड दिँदै यसले किसान र उपभोक्ता दुवैलाई लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सभाको अवसरमा दुग्ध क्षेत्रमा उदाहरणीय योगदान पुर्याएका किसान, उद्योगी तथा सहयोगीहरूलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।