नेपाली काँग्रेसभित्र देखिएको पछिल्लो विवादका बीच विशेष महाधिवेशन आह्वान गरिएको छ । विशेष महाधिवेशन सञ्चार तथा प्रचार–प्रसार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गरिने जानकारी दिएको हो ।
पार्टीले २०८२ पुस २८ भित्र १५ औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरे पनि तोकिएको समयमा महाधिवेशन हुन नसकेपछि विशेष महाधिवेशन निर्विकल्प विकल्प बनेको विशेष महाधिवेशन पक्षधरको दाबी छ । विज्ञप्ति जारी गर्दै उनीहरूले बाध्यात्मक परिस्थितिका कारण विशेष महाधिवेशन आह्वान गरिएको बताएका छन् ।
‘विधानको मर्म र भावनालाई सम्मान गर्दै २०८२ पुस २७ र २८ गते काठमाडौंमा आयोजना हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको सक्रिय सहभागिताका लागि आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनीएकाे छ ।
विशेष महाधिवेशनका लागि सचिवालयले शान्ति सुरक्षाको व्यवस्था गर्न स्थानीय प्रशासनसँग पत्राचार गरिसकेको जनाएको छ । महाधिवेशन स्थलका रूपमा भृकुटीमण्डप यसअघि नै बुकिङ गरिएको र तयारीका लागि विभिन्न उपसमितिहरू गठन भइसकेको जानकारी पनि पत्रकार सम्मेलनमार्फत दिइएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि विशेष महाधिवेशनको विकल्प अपरिहार्य बनेको बताएका छन् । तर सभापति शेरबहादुर देउवा पक्षले भने फागुन २१ को प्रतिनिधिसभा निर्वाचनअघि विशेष महाधिवेशन गर्न नसकिने अडान लिएको छ ।