काँग्रेस विभाजन रोक्ने उद्देश्यले भइरहेको निर्णायक वार्ता अन्तरिम नेतृत्वको विषयमा अड्किँदा लम्बिएको छ । वार्तामा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशनको स्वामित्व लिने र त्यसले गरेका निर्णय कार्यान्वयन गर्ने विषयमा संस्थापन पक्ष केही लचक देखिए पनि तत्काल नेतृत्व फेर्ने प्रस्तावमा भने सहमति देखिएको छैन ।
आगामी वैशाखसम्म हुने १५ औँ महाधिवेशन नहुँदासम्मका लागि अन्तरिम नेतृत्व गठन गर्ने विषयमै सहमति जुट्न सकेको छैन । यद्यपी मिलाउने प्रयास जारी छ । वार्तामा सहभागी केन्द्रीय सदस्य प्रदीप पौडेलले आफ्ना तहमा सहमति जुट्न नसकेको बताउनु भयाे । उहाँका अनुसार संस्थापन पक्षका नेताहरू कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वयसँग थप छलफलमा हुनुहुन्छ ।
वार्तामा संस्थापन पक्षबाट रमेश लेखक र बालकृष्ण खाँड, विशेष महाधिवेशन पक्षधरबाट प्रदीप पौडेल, गुरु घिमिरे, देवराज चालिसे र मधु आचार्य तथा शेखर कोइराला समूहबाट जीवन कोइराला र मीनेन्द्र रिजाल पनि वार्तामा सहभागी हुनुहुन्थ्याे ।
विशेष महाधिवेशन पक्षधर नेताहरूले केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने पहिलो सर्त अघि सारेकाे छ । त्यसपछि विशेष महाधिवेशनले गरेका निर्णय तत्काल कार्यान्वयनमा लैजानुपर्ने, नियमित महाधिवेशन नहुँदासम्म नयाँ अन्तरिम कार्यसमिति बनाएर अघि बढ्ने र नेतृत्वका विषयमा खुला प्रतिस्पर्धा गर्नुपर्ने प्रस्ताव छ।
वार्ता टुंगोमा नपुग्दा सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठक सुरु हुन सकेको छैन । यता, भृकुटीमण्डपस्थित विशेष महाधिवेशन स्थलमा भने नयाँ केन्द्रीय कार्यसमिति निर्वाचनको प्रक्रिया अघि बढाइएको छ । मनोनयनका लागि फारम वितरण र भर्ने क्रम जारी छ ।
वार्ता निष्कर्षमा नपुगेको खण्डमा भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज राति मतदान नहुने भएको छ । राति मतदान गराउन गाह्रो हुने भएकाले भोलि बुधबारमात्रै मतदान प्रक्रिया अगाडि बढाइने तयारी रहेको केन्द्रीय निर्वाचन समितिले जनाएकाे छ ।