गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँर सोही गाउँपालिकाको वडा नं. ६ ग्वारी निवासी स्व. टुकबहादुर दर्जीको परिवारलाई राहत स्वरुप आर्थिक सहयोग गर्नुभएको छ ।
३२ वर्षीय टुकबहादुरको असामयिक निधन भएपछि आर्थिक रुपमा अति विपन्न दर्जीको परिवारलाई उहाँले राहत स्वरुप १० हजार रुपैंया प्रदान गर्नुभएको हो । ३० वर्षीय श्रीमती र साना दुई सन्तान रहेका टुकबहादुरको यहि पुस २० गते निधन भएको थियो ।
जंगलको नजिकै सुकुम्बासीमा जीवन विताउँदै आएको दर्जी परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको र थोरै भएपनि राहत होस् भन्ने उद्देश्यले थोरै भएपनि राहत स्वरुप आर्थिक सहयोग गरिएको अध्यक्ष कुवँरले बताउनु भयो ।
अध्यक्ष कुवँरले दर्जी परिवारलाई अभिभावक गुमाएको नवौं दिनको दिन मंगलबार घरमै पुगेर १० हजार रुपैंयाको चेक हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष कुवँरबाट त्यसरी पाएको सहयोगले आफूहरुको परिवारलाई ठूलो राहत मिलेको दिवंगत टुकबहादुरकी श्रीमती सुमनाले बताउनु भयो ।
नेपाली काँग्रेस मदानेका सभापति समेत रहनु भएका कुवँरले आफू पालिकाको अध्यक्षमा निर्वाचित भएदेखि नै पालिकाबाट पाउने सुविधा वापतको रकम पार्टीको खातामा जाने र त्यसरी खातामा आएको पैसा पार्टी समितिको निर्णयमा दुःखी, गरिव तथा विपन्न परिवारलाई राहत तथा शिक्षा र स्वास्थ्यमा खर्च गर्दै आउनु भएको छ । अध्यक्ष कुँवरले विपन्न, दुःखी र असहाय परिवारप्रति स्थानीय सरकार सधैँ संवेदनशील रहने बताउँदै आगामी दिनमा समेत आवश्यक सहयोगका लागि पहल गरिने प्रतिबद्धता जनाउनुभयो ।