माघका लागि वाणिज्य बैंकहरूको ब्याजदर थप घट्यो

1.3K

माघका लागि वाणिज्य बैंकहरूको ब्याजदर थप घट्यो

उच्च तरलता र कमजोर कर्जा प्रवाहको असर माघ महिनामा पनि देखिएको छ । वाणिज्य बैंकहरूले माघका लागि निक्षेप ब्याजदर थप घटाएका छन् । २० वाणिज्य बैंकले सार्वजनिक गरेको विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर पुसको तुलनामा ०.१४९५ प्रतिशत बिन्दुले घटेर ४.६८४५ प्रतिशतमा झरेको छ ।
पुसमा उक्त ब्याजदर औसत ४.८३४ प्रतिशत थियो । व्यक्तिगत मुद्दतीको ब्याज घटेसँगै बचत तथा संस्थागत निक्षेपको ब्याजदरमा पनि दबाब परेको छ, जसले कर्जाको ब्याजदर घट्ने आधार तयार गरेको छ ।
माघमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.५ प्रतिशत कायम छ, जसमा ग्लोबल आईएमई बैंक अगाडि रहेको छ । पुसको तुलनामा ११ बैंकले ब्याजदर घटाएका छन् भने ८ बैंकले स्थिर राखेका छन् । एक बैंकले सामान्य वृद्धि गरेको छ ।
बैंकहरूमा लगानीयोग्य रकम प्रशस्त भए पनि कर्जा माग न्यून रहेकाले ब्याजदर घट्दो क्रममा रहेको छ । यसैबीच, राष्ट्र बैंकले तरलता व्यवस्थापन र अन्तरबैंक ब्याजदर सन्तुलनका लागि बोन्ड तथा स्थायी निक्षेप सुविधा जस्ता उपकरणमार्फत बजारबाट रकम खिच्दै आएको छ ।