नेपाली काँग्रेसले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारवाही गरेको छ ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टी अनुशासन विपरितका गतिविधि गरेको भन्दै तीनै जनालाई ५ वर्षका लागि साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको हो ।
यहि २६ पुसदेखि काठमाण्डौको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले पुरानो कार्यसमिति भंग गर्नुको साथै नयाँ नेतृत्व चयन गर्दै थियो । त्यसैक्रममा पार्टीले विशेष महाधिवेशनको नेतृत्व गरेका दुई महामन्त्री र १ जना सहमहामन्त्रीलाई कारवाही गरेको हो ।
पार्टी कारवाहीमा परेका महामन्त्री थापाले आफूहरु नै आधिकारिक काँग्रेस भएको दावी गर्नुभएको छ । विशेष महाधिवेशन हलमा प्रतिनीधिहरुलाई सम्बोधन गर्दै थापाले आफूहरु नै आधिकारिक काँग्रेस भएको दावी गर्दै त्यसलाई पुष्टि गरेरै छाड्ने बताउनु भयो ।
यस विचमा पार्टी संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच पटक पटक वार्ता र छलफल हुँदै आएको थियो । तर ती संवादहरुमा दुबै पक्षले अडान नछाडेका कारण सहमति हुन सकेको थिएन ।
विशेष महाधिवेशनले सभापतिमा गगन थापा र दुई महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहित नयाँ पदाधिकारी चयनको प्रक्रिया अगाडि बढाएको छ । योसँगै नेपाली कांग्रेस औपचारिक रुपमा विभाजनतर्फ अघि बढेको छ ।