प्रेस युनियनद्वारा एकताकाे जिम्मेवारी बाेध गर्न काँग्रेस नेताहरुलाई आग्रह

1.3K

प्रेस युनियनद्वारा एकताकाे जिम्मेवारी बाेध गर्न काँग्रेस नेताहरुलाई आग्रह

नेपाल प्रेस युनियनले नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक संकटप्रति चिन्ता व्यक्त गर्दै पार्टी विभाजन नगरी एकताको मार्ग रोज्न आग्रह गरेको छ । युनियनले लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारको हित संरक्षणका लागि लोकतान्त्रिक शासन व्यवस्था अपरिहार्य रहेको स्पष्ट पारेको छ ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालद्वारा जारी विज्ञप्तिमा बहुदलीय लोकतन्त्रले सञ्चार क्षेत्रका सरोकारलाई समेट्ने युनियनको अविचलित मान्यता रहेको उल्लेख गरिएको छ । लोकतन्त्रमा राजनीतिक दलहरू जति सुदृढ हुन्छन्, लोकतान्त्रिक अभ्यास पनि त्यति नै समृद्ध हुने भन्दै दल विभाजनले मुलुक र लोकतन्त्र दुवैको हित नगर्ने युनियनको धारणा छ ।
विज्ञप्तिमा नेपाली काँग्रेस मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी भएकाले हाल देखिएको गम्भीर आन्तरिक संक्रमणलाई विभाजनतर्फ लैजानु लोकतन्त्रका लागि सुखद नहुने उल्लेख छ । जनआन्दोलनपछि उत्पन्न परिस्थितिलाई निर्वाचनमार्फत मूलधारमा ल्याउने र संविधानको संरक्षण गर्ने मूल जिम्मेवारीबाट विचलित भएर पार्टी विभाजन हुनु अनुचित हुने युनियनको ठहर छ ।
नेपाल प्रेस युनियनले नेपाली काँग्रेसका सबै जिम्मेवार नेताहरूलाई लोकतन्त्र र मुलुकको भविष्यलाई केन्द्रमा राखी एकताको यात्रा तय गर्न आग्रह गरेको छ । साथै, देशभर रहेका युनियन आबद्ध पत्रकारहरूलाई पनि विचलित नभई एकताको पक्षमा अभिमत प्रकट गर्न अनुरोध गरिएको छ ।