महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भई चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिल कार्यालयहरूलाई स्वीकृति दिएको छ ।
महान्यायाधिवक्ता कार्यालयको निर्णयअनुसार कास्की, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा दायर संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणका अभियोग फिर्ता गरिनेछ । महान्यायाधिवक्ता सबिता भण्डारी बरालका अनुसार सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहनेछ ।
‘सहकारी ठगीको मुद्दा कायम नै छ, संगठित अपराध र सम्पत्ति शुद्धिकरणका अभियोग फिर्ता लिनेगरी मात्र आरोपपत्र संशोधन गर्न स्वीकृति दिइएको हो,’ उनले बताइन् । यसलाई पूर्ण रूपमा मुद्दा फिर्ता लिएको रूपमा बुझ्न नहुने पनि उनको स्पष्टिकरण छ ।
बुधबार चारवटा जिल्ला अदालतमा चलिरहेका अभियोगपत्र संशोधन गर्न स्वीकृति दिने निर्णय गरिएको हो । यसअनुसार कास्कीमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा तथा रुपन्देही, काठमाडौं र पर्सामा चलिरहेको संगठित अपराधको मुद्दा फिर्ता हुनेछ । चितवन जिल्ला अदालतमा भने यस्ता अभियोग नचलेकाले त्यहाँ अभियोगपत्र संशोधन आवश्यक नरहेको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।