नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अधिवेशन यहि माघ १७ गते गर्ने निर्णय सहित मातहतका जिल्ला नगर संघ तथा एशोसियट सदस्यहरुलाई पत्राचार गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले माघ मसान्तसम्म प्रदेश अधिवेशन सम्पन्न गर्न निर्देशनात्मक परिपत्र गरेपछि गत पुस २६ गते बसेको प्रदेश समितिको बैठकले माघ १७ गते प्रदेश अधिवेशन गर्ने निर्णय सहित मातहतका संघ तथा एशोसियट सदस्यहरुलाई औपचारिक पत्राचार गरिसकेको जनाएको छ ।
यहि माघ १७ गते भैरहवा स्थित नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा पहिलो चरणमा प्रदेश सभाको उद्घाटन गरिने र सोही दिन दोस्रो चरणमा निर्वाचनको कार्यक्रम गरिने प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी गराउनु भयो ।
महासंघको विधान अनुसार प्रदेश समितिमा अध्यक्ष, २ जना उपाध्यक्ष, १ जना कोषाध्यक्ष तथा २ जना जिल्ला नगर तथा २ जना एशोसियट सदस्यबाट कार्यकारिणी सदस्य चयन गरिने छ । महासंघका प्रदेश नेतृत्वमा आउन चाहने उद्योगी व्यवसायीहरुले माघ ११ गते भित्रै मनोनयन दर्ता गरिसक्नुपर्नेछ ।
निर्वाचनमा उम्मेदवार खडा गर्न इच्छुक सदस्य संघ–संस्थाहरूले आर्थिक वर्ष २०८२/८३ सम्मको वार्षिक सदस्यता शुल्क, प्रतिनिधि शुल्क तथा उम्मेदवारी शुल्क सहित आवश्यक कागजात माघ ११ गते साँझ ४ बजेसम्म प्रदेश महासंघको सचिवालय भैरहवामा दर्ता गराउनुपर्ने जिल्ला नगर संघ तथा एशोसियट सदस्यहरुलाई पत्राचार गरिएको छ ।
मनोनयन पत्रसहित प्रतिनिधि पत्र र सम्बन्धित संघको कार्यकारिणी समितिको निर्णयको प्रतिलिपि पठाउनु पर्नेछ । प्रदेश सभामा जिल्ला तथा नगर उद्योग वाणिज्य संघले मुख्य प्रतिनिधि सहित ३ जना, वस्तुगत संघले १ जना, तथा एसोसिएट सदस्यले १ जना मुख्य प्रतिनिधि पठाउन सक्नेछन् । विधान अनुसार मुख्य प्रतिनिधिले मात्र मतदान गर्न पाउने व्यवस्था रहेको महासंघले जनाएको छ ।
प्रदेश सभामा सहभागी हुने प्रतिनिधिका लागि प्रति व्यक्ति १ हजार ५ सय रुयैयाँ शुल्क तोकिएको छ । यस्तै, उम्मेद्वारी मनोनयन गर्दा अध्यक्ष पदका लागि १ लाख ५० हजार रुपैयाँ, उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि ७५ हजार रुपैंया कार्यकारिणी समिति सदस्यका लागि ४० हजार रुपैंया उम्मेद्वारी शुल्क निर्धारण गरिएको छ । प्रदेश सभामा विचारार्थ पेश गर्नुपर्ने प्रस्तावहरू भएमा २०८२ माघ ११ गतेभित्र प्रदेश सचिवालयमा पुग्ने गरी पठाउन महासंघले सदस्य संघ–संस्थाहरूलाई आग्रह गरेको छ ।