नेकपा एमालेमा उपाध्यक्ष, महासचिव सहितका राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने नेताहरु रहेको लुम्बिनी प्रदेशमा को–को नेताले पाए टिकट सबैको चासोको विषय छ । लुम्बिनी प्रदेशको सबैभन्दा महत्वपूर्ण मानिएको बुटवल उपमहानगरपालिका समेत रहेको क्षेत्र नं. २ मा एमाले उपाध्यक्ष विष्णु पौडेलले जित्दै आएको निर्वाचन क्षेत्र हो । तर यस पटक पौडेललाई एमालेले पाल्पाको क्षेत्र नं. २ बाट उठाउने तयारी गरेको छ । तर क्षेत्र नं. २ रुपन्देहीमा कसलाई टिकट दिने भन्ने निर्योल गरिसकेको छैन ।
१२ जिल्ला र २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशमा एमालेले अझै ८ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको छैन ।
एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम टुंगो लगाएको छ भने अझै ८ वटा निर्वाचन क्षेत्रमा निर्णय हुन बाँकी रहेको छ ।
टुंगो लागेका निर्वाचन क्षेत्रहरूमध्ये नवलपरासीमा रामप्रसाद पाण्डे र भगवतीप्रसाद यादव उम्मेदवारका रूपमा अघि सारिएका छन् । रुपन्देहीमा भने ३ नम्बर क्षेत्रमा बासुदेव घिमिरे र ५ नम्बर क्षेत्रमा खिमलाल भट्टराईको नाम निश्चित भएको छ भने अन्य तीन निर्वाचन क्षेत्रमा निर्णय बाँकी छ । यस अंगाडि उपाध्यक्ष विष्णु पौडेल लड्दै आएको क्षेत्र नं. २ मा महासचिव शंकर पोखरेलको समेत नाम चर्चामा छ ।
कपिलवस्तुमा १ नम्बर क्षेत्रमा विश्राम चौधरी र ३ नम्बर क्षेत्रमा बिरेन्द्र कानोडियालाई उम्मेदवार बनाइएको छ । कानोडिया भर्खरै मात्रै नेपाली काँग्रेसबाट एमालेमा प्रवेश गरेका हुन् । उनी अघिल्लो कार्यकालमा लुम्बिनी प्रदेश सभामा नेपाली काँग्रेस संसदीय दलका नेता थिए । २ नम्बरमा भने टुंगिएको छैन ।
दाङमा ३ नम्बर क्षेत्रमा घनश्याम पाण्डेको नाम टुंगो लागेको छ भने १ र २ नम्बर क्षेत्र टंग्याउन बाँकी छ । बाँकेमा १ नम्बर क्षेत्रमा सूर्य ढकाल र ३ नम्बर क्षेत्रमा दलबहादुर सुनार उम्मेदवार बनेका छन् । २ नम्बर क्षेत्रमा नाम टुंगिएको छैन । बर्दियामा क्षेत्र नं. १ मा शालिकराम अधिकारी र क्षेत्र नं. २ विमला विकलाई उम्मेदवार बनाइएको छ । पाल्पाको क्षेत्र नं. १ मा नारायण आचार्य र क्षेत्र नं. २ मा विष्णुप्रसाद पौडेलको नाम तय भएको छ ।
यसैगरी, रोल्पामा गोकुल घर्ती, प्यूठानमा सूर्य थापा, अर्घाखाँचीमा पिताम्बर भूसाल, गुल्मी क्षेत्र नं. १ मा प्रदीप ज्ञवाली र क्षेत्र नं. २ गोकर्ण विष्ट उम्मेदवार चयन भएका छन् । रुकुम पूर्वको एकमात्र निर्वाचन क्षेत्र भने अझै टुंगो लाग्न सकेको छैन ।