आज प्रतिनिधिसभा सदस्य उम्मेदवारी दर्ता

1.3K

आज प्रतिनिधिसभा सदस्य उम्मेदवारी दर्ता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज देशभर एकैसाथ सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ ।
उम्मेदवारी दर्ताका लागि उम्मेदवारले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ । साथै सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको प्रमाण (निस्सा) पनि आवश्यक पर्ने आयोगले जनाएको छ ।
आयोगले उम्मेदवारी दर्ताका क्रममा कुनै किसिमको तडकभडक नगर्न, शान्त, मर्यादित र अनुशासित ढंगले निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ । भीडभाड व्यवस्थापन र दर्ता प्रक्रियालाई सहज बनाउन प्रमुख राजनीतिक दल र उम्मेदवारका लागि समयसमेत तोकिएको आयोगले जनाएको छ ।
यसअघि आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत चयन हुने संवैधानिक व्यवस्था छ ।
गत भदौ २३ र २४ गते सम्पन्न जेन–जी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराइसकेको जनाएको छ । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोट प्रक्रिया पनि अघि बढिसकेको छ ।
राजनीतिक दलहरूतर्फ अधिकांशले उम्मेदवार छनोट टुंग्याइसकेका छन् । नेपाली काँग्रेसले केही निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरिसकेको दाबी गरेको छ । एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलहरूले उम्मेदवारलाई आधिकारिक पत्रसमेत वितरण गरिसकेका छन् ।
निर्वाचन आयोगले आवश्यक सबै तयारी पूरा भएको बताउँदै आज देशभर उत्साहपूर्ण वातावरणमा उम्मेदवार मनोनयन कार्यक्रम सम्पन्न हुने विश्वास व्यक्त गरेको छ । विसं २०७९ मा निर्वाचित प्रतिनिधिसभा गत भदौको आन्दोलनका कारण विघटन भएपछि नयाँ निर्वाचन हुन लागेको हो ।