प्रतिनिधि सभा निर्वाचन : रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा १५८ जना उम्मेद्वार

1.3K

प्रतिनिधि सभा निर्वाचन : रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा १५८ जना उम्मेद्वार

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ५ निर्वाचन क्षेत्र रहेकाे रुपन्देही जिल्लामा १५८ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकृत कल्पना अर्यालका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रूपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रबाट राजनीतिक दलका ९४ जना र स्वतन्त्र रूपमा ६४ जनाले मनोनयन दर्ता गराएका हुन् ।
लुम्बिनी प्रदेशकै केन्द्रका रुपमा रहेकाे बुटवल उपमहानगरपालिका समेत पर्ने क्षेत्र नं. २ मा बढी प्रतिस्पर्धा देखिएकाे छ । याे क्षेत्रमा राजनितिक दलबाट २० जना र स्वतन्त्र २१ जना गरि ४१ जना उम्मेद्वार छन् । यहाँ नेपाली काँग्रेसले नयाँ अनुहारलाई उम्मेद्वार बनाएकाे छ । यहाँ काँग्रेसले महाधिवेशन प्रतिनिधि समेत रहेका उद्याेगी चुन्नप्रसाद पाैडेललाई उम्मेद्वार बनाएकाे हाे । यशोदा फुड्स, बुटवल अस्पताल प्रालि र हायात प्यालेसका सञ्चालक रहेका पौडेल पहिलाे पटक चुनावमा हाेमिनुभएकाे हाे ।
त्यस्तै एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पनि यसै क्षेत्रबाट उम्मेद्वार बनुनु भएकाे छ । अघिल्लाे प्रतिनिधि सभा निर्वाचनमा झिनाे मतान्तरले विजयी पाैडेल २०६४, २०७०, २०७४ र २०७९ काे निर्वाचनमा लगातार विजयी हुनु भएकाे थियाे । याे निर्वाचन क्षेत्रबाट रास्वपाका सुलभ खरेल, नेकपाका सुवास (विश्वदीप) पाण्डे, राप्रपाकी कार्भिका थापा लगायत २० दलका प्रतिनिधि र २१ स्वतन्त्र उम्मेद्वार प्रतिस्पर्धामा छन् ।
क्षेत्र नं. १ मा ३१ जनाको उम्मेदवारी परेको छ। याे क्षेत्रमा काँग्रेसका क्षेत्रीय सभापति तथा दवदह नगरपालिकाका पूर्व मेयर हिराबहादुर खत्री, एमालेका दधिराम न्यौपाने, राप्रपाका प्रज्वल बोहरा र रास्वपाका सुनील लम्साल चुनावी मैदानमा उत्रिएका छन् ।
त्यस्तै क्षेत्र नं. ३ मा राजनितिक दलबाट १९ र स्वतन्त्र १७ गर । याे क्षेत्रमा काँग्रेसका क्षेत्रीय सभापति सुशील गुरुङ, एमालेका वासुदेव घिमिरे, रास्वपाका डा. लेखजंग थापा र राप्रपाका क्याप्टेन गौरव बोहरा प्रमुख प्रतिस्पर्धीका रूपमा छन् ।

त्यस्तै, क्षेत्र नं. ४ मा राजनीतिक दलका १५ र स्वतन्त्रका ७ गरी २२ जना उम्मेदवार छन् । याे क्षेत्रमा काँग्रेसका आशुताेष मिश्रा, एमालेबाट प्रमोद यादव, राप्रपाका अहमदुद्दिन मुसलमान र रास्वपाका कन्हैया बानिया प्रतिस्पर्धामा छन् । प्रमाेद यादवले काँग्रेसबाट टिकट नपाएपछि एमालेमा प्रवेश गरेर एमालेले उम्मेद्वार बनाएकाे हाे ।
त्यस्तै क्षेत्र नं. ५ मा राजनितिक दलबाट १९ र स्वतन्त्रबाट ८ गरी २७ जनाको उम्मेदवारी परेको छ । याे क्षेत्रमा काँग्रेसबाट केन्द्रीय सदस्य भतकुमार शाहलाई उम्मेद्वार बनाएकाे छ भने एमालेका खिमलाल भट्टराई, रास्वपाका तौफिक अहमद खान र नेकपा (एकीकृत समाजवादी)का मुहम्मद वकिल मुसलमान चुनावी मैदानमा छन् ।