पश्चिमी वायुको प्रभाव सक्रिय भएसँगै आज पश्चिम नेपालका विभिन्न स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालका अनुसार आज शुक्रबार दिउँसोदेखि पश्चिम नेपालबाट मौसम बदली सुरु हुनेछ । साँझपख सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा सुरु हुने र क्रमशः यसको प्रभाव अन्य प्रदेशमा फैलिने अनुमान गरिएको छ ।
उहाँका अनुसार पश्चिमी वायुका कारण लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने छ । यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा असिनासहितको वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज रातिदेखि देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यमस्तरको हिमपात हुन सक्ने मौसम पूर्वानुमान छ । शनिबारको दिन मौसममा केही सुधार देखिए पनि देशभर बदली कायमै रहने र चिसो बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।
वर्षा र हिमपातका कारण जनजीवन, पर्यटन क्षेत्र, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन पनि विभागले सुझाव दिएको छ ।