अवैध रुपमा भन्सार छलि भित्र्याइएका सामानविरुद्ध कडाइ गरेकाे रुपन्देही प्रहरीले बुधबार एकै दिन विभिन्न स्थानबाट ६५ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतका प्रहरी टोलीहरूले जिल्लाका सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका तथा बेलहिया नाकासहितका विभिन्न स्थानमा सवारी साधन चेकजाँचका क्रममा भारतबाट अवैध रूपमा ल्याइँदै गरिएका सामान नियन्त्रणमा लिएका हुन् ।
बरामद गरिएका सामानमा जुत्ता, रेडिमेड कपडा, प्लास्टिक तथा साडी, चिनी, मिठाइ, खेलौना, घरायसी सामग्री, गाडीका स्पेयर पार्ट्स, गियर बक्सका पार्ट्स, डिजेल इन्जिनका सामग्री, पेट फुडलगायत विविध वस्तु रहेका छन् । यी सबै सामानहरू आवश्यक कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सिद्धार्थनगर नगरपालिका ८, लुम्बिनी सांस्कृतिक नगरपालिका १३, गैडहवा गाउँपालिका ६ र बेलहिया बसपार्क क्षेत्रमा गरिएको चेकजाँचका क्रममा यी सामानहरू नियन्त्रणमा लिइएकाे हाे । अवैध ओसारपसार नियन्त्रण गर्न कडाईका साथ नियमित अनुगमन जारी रहने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले स्पष्ट पारेको छ ।
प्रहरीले भन्सार छलि तथा अवैध व्यापारमा संलग्न नहुने चेतावनी दिँदै यस्ता गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई समेत आग्रह गरेको छ ।