निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न जिल्ला प्रशासनलाई गृहकाे सर्कुलर

1.3K

निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न जिल्ला प्रशासनलाई गृहकाे सर्कुलर

आगामी प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउने लक्ष्यसहित गृह मन्त्रालयले जिल्लास्तरको प्रशासनिक संयन्त्रलाई सक्रिय बनाएको छ । निर्वाचनपूर्व र मतदान अवधिमा आचारसंहिता उल्लङ्घन नहोस भन्न जिल्ला प्रशासन कार्यालयहरूलाई नियमित र प्रभावकारी अनुगमन गर्न गृहले निर्देशन दिएको हो ।
यसका लागि निर्वाचन आयोगले तोकेका आचारसंहिता अनुगमन अधिकृतहरूको भूमिकालाई केन्द्रमा राख्दै गृहले प्रशासनिक कार्यालयहरूसँग पत्राचारमार्फत जिम्मेवारी कार्यान्वयनमा जोड दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीलाई गैर-आर्थिक विषयको निगरानी र प्रमुख कोष नियन्त्रक/कोष नियन्त्रकलाई आर्थिक गतिविधिसम्बन्धी अनुगमनको जिम्मा दिइएको छ ।
यहि माघ ४ गतेदेखि लागू भएकाे निर्वाचन आचारसंहिताको पालना सुनिश्चित गर्न यस्तो कदम चालिएको गृहको भनाइ छ । आचारसंहिता लागू भएको छोटो समयमै केही उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिनुले अनुगमनलाई थप कडा बनाइने संकेत गरेको छ । आगामी २१ फागुनको निर्वाचनलाई लक्षित गर्दै जिल्लास्तरबाटै आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउने तयारी तीव्र पारिएको छ ।