प्रगतिशील लोकतान्त्रिक पार्टीले रूपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका गोविन्द काराखेतीको उम्मेदवारी खारेज गर्दै पार्टीको साधारण सदस्यसमेतबाट निष्कासन गरेको छ ।
उम्मेद्वार कार्कीले पार्टीको नीति, सिद्धान्त, विधान तथा आधिकारिक निर्णयको गम्भीर उल्लंघन गर्दै पार्टी हितविपरीत गतिविधि गरेको प्रमाणित भएपछि उक्त निर्णय लिइएको जिल्ला इन्चार्ज पंकज राईले बताउनु भयो । पार्टीको केन्द्रीय, प्रदेश तथा जिल्ला समितिमा भएको छलफल र निर्णयका आधारमा काराखेतीले अनुशासनहीन, गैरजिम्मेवार तथा पार्टीको छवि र हितमा गम्भीर क्षति पु¥याउने कार्य गरेको ठहर गरिएको छ ।
कारवाही पत्रमा उल्लेख भएअनुसार उम्मेदवार बनेपछि कार्कीले पार्टीका विभिन्न नेताहरूसँग अनुचित आर्थिक माग गरेको, साथै श्रीमती जयन्ती काराखेतीलाई अर्को राजनीतिक दलबाट समानुपातिक उम्मेदवार बनाएको आरोपसमेत लगाइएको छ । यी गतिविधिलाई पार्टीले ‘गम्भीर र आपत्तिजनक’ भन्दै कारबाही गरिएको जनाएको छ ।
पार्टी विधानअनुसार तत्काल लागू हुने गरी काराखेतीको प्रतिनिधिसभा सदस्य उम्मेदवारी निष्क्रिय बनाइँदै पार्टीको सम्पूर्ण जिम्मेवारी, अधिकार र गतिविधिबाट हटाइएको पार्टीले स्पष्ट पारेको छ । जिल्ला इन्चार्ज पंकज राई र जिल्ला संयोजक कृष्ण बञ्जाडेले हस्ताक्षर गरेको पत्रमार्फत काराखेतीलाई पार्टीको साधारण सदस्यसमेतबाट कारवाही गरिएको जानकारी दिईएको छ ।