आसन्न प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, भयरहित र सुरक्षित बनाउन सरकारले एकीकृत सुरक्षा योजना अनुसार पाँचवटै सुरक्षा निकाय परिचालन गरेको छ । नेपाली सेना २१ माघदेखि फिल्डमा खटिएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरी अर्को सातादेखि पूर्ण रूपमा तैनाथ हुँदैछन् ।
निर्वाचन सुरक्षाका लागि करिब ७१ हजार नेपाल प्रहरी, ३५ हजार सशस्त्र प्रहरी र ८० हजार नेपाली सेना तयारी अवस्थामा छन् । कुल ११ हजार ९०१ मतदानस्थलमध्ये ४ हजार ६१४ स्थललाई अतिसंवेदनशील सूचीमा राखेर थप सुरक्षा व्यवस्था मिलाइएको छ ।
मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी, बाहिरी घेरामा सशस्त्र प्रहरी र अन्तिम घेरामा नेपाली सेना खटाइनेछ । सुरक्षा जोखिम देखिएमा तत्काल ब्याकफोर्स परिचालन हुने व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ ।
सरकारले सादा पोसाकका सुरक्षाकर्मी, गस्ती, निगरानी र सूचना संकलनलाई समेत तीव्र पार्दै सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गर्ने तयारी गरेको छ ।