बुटवल जेसीजमा नवनिर्वाचित कार्यसमितिको पदस्थापन

1.3K

बुटवल जेसीजमा नवनिर्वाचित कार्यसमितिको पदस्थापन

बुटवल जेसीजमा नवनिर्वाचित कार्यसमितिको पदस्थापन गरिएको छ । शनिबार बुटवलमा कार्यक्रमका विच यदुमणी पोखरेलको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई पदस्थापन गरिएको हो । त्यस अवसरमा बुटवल जेसीजका निवर्तमान अध्यक्ष मोहन न्यौपानेले नवनिर्वाचित अध्यक्ष पोखरेललाई बुटवल जेसीजको कार्यभार सुम्पिनु भएको थियो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले युवाहरुमा व्यक्तित्व र नेतृत्व विकासमा बुटवल जेसीजले खेलेको भूमिका अविस्मरणीय रहेको भनाई राख्नुभयो । उहाँले जेसीजले अंगिकार गरेको ‘विधिको शासन’ शासन सत्तामा रहेका व्यक्तिले पनि अंगिकार गर्न सके सुशासनयुक्त मुलुक निर्माण गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले जेसीजको स्कुलिङबाट आएका युवाहरुलाई राजनीतिमा आउन र देशको विकासमा योगदान गर्न आग्रह गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष पोखरेलले यो वर्ष अनुकरणीय एवं उदाहरणीय जेसीज वर्ष बनाउने उल्लेख गर्दै आफ्ना योजना सहित अधुरा कार्यक्रमहरुलाई पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यसका लागि सबैलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो । बुटवल जेसीजको हालै सम्पन्न अधिवेशनले पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । एक व्यक्ति, एक पद, एक वर्षको अवधारणा अनुसार २ कार्यकारिणी उपाध्यक्ष पदमा मनोजलाल श्रेष्ठ र विकास पन्थी, ४ उपाध्यक्ष पदमा सम्राट कुँवर, सरोज पोखरेल, सुवास केसी र सैलेश पाण्डे तथा सहसचिवमा हरिप्रसाद घिमिरे र सहकोषाध्यक्षमा प्रशान्त भट्टराई निर्वाचित हुनु भएको थियो । जेसीज विधान अनुसार अध्यक्षले मनोनित गर्ने महासचिव पदमा कमलप्रसाद शर्मा, कानूनी सल्लाहकारमा माधव पराजुली, कोषाध्यक्षमा रमेश न्यौपाने र चिफ एक्जुकेटिभमा विनोद पोखरेललाई मनोनित गरिएको छ ।
त्यस अवसरमा लायन्सका डिष्ट्रिक गभर्नर बालाराम भट्टराई, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष खगेन्द्र भण्डारी, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष तथा बुटवल जेसीजका पूर्व अध्यक्ष अनुपमान सैजु, पूर्वअध्यक्ष तथा बोर्ड अफ टष्ट्रिजका अध्यक्ष निर्मल लाकौल, मनोज राना लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।