भरतपुरमा कृषि सिँचाइ रोबोट निर्माण कार्यशाला

1.3K

भरतपुरमा कृषि सिँचाइ रोबोट निर्माण कार्यशाला

आठौँ अन्तर्राष्ट्रिय छात्रा तथा महिला विज्ञान दिवस २०२६ को अवसरमा भरतपुरमा दुई दिने कृषि सिँचाइ रोबोट निर्माण तथा प्रशिक्षण कार्यशाला भएको छ । सनवे रिसर्च एण्ड इनोभेसन सेन्टर, भरतपुर–११ को आयोजनामा भोजाडस्थित युनाइटेड टेक्निकल कलेजको सभा हलमा माघ २८ गतेदेखि २९ गतेसम्म कार्यशाला सञ्चालन भइरहेको हो ।
कार्यक्रमको उद्घाटन बुधबार सनवे रिसर्च एण्ड इनोभेसन सेन्टरका अध्यक्ष प्रदीप सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । भरतपुर महानगरपालिकाका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथि रहेका उद्घाटन समारोहमा वडा नम्बर ११ का अध्यक्ष कमल बहादुर मल्ल र कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनकी उपकुलपति प्रा. डा. शारदा थपलिया विशिष्ट अतिथि रूपमा सहभागी थिए ।
रोबोटद्वारा गमलामा रोपिएको फूलमा पानी सिँचाइ गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो । सो अवसरमा युनाइटेड टेक्निकल कलेजका प्राचार्य प्रा. डा. माधव प्रसाद कोइराला, भ्याली स्टेट कलेजका प्राचार्य बाबुराम खनाल तथा विश्व शान्ति साहित्य समाज रुपन्देहीका अध्यक्ष हरिप्रसाद पौडेलको पनि विशिष्ट उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन साहित्य सर्जक तथा विश्व शान्ति साहित्य समाज रुपन्देहीका सल्लाहकार बाबुराम घिमिरेले गरेका थिए ।
उद्घाटन समारोहमा वक्ताहरूले कृषि प्रविधिमा रोबोटिक्सको बढ्दो महत्व, विशेषगरी छात्रा तथा महिलाहरूको भूमिका र सहभागिताको आवश्यकता बारे प्रकाश पारेका थिए । विज्ञान तथा प्रविधि क्षेत्रमा महिलाको सशक्त सहभागिता सुनिश्चित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको थियो ।
दुई दिने कार्यशालामा भरतपुर क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका ३५ जना छात्रा प्रशिक्षार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।