दुबईमा निधन भएकी मदानेकी स्व. गीताकाे काजक्रियाकाे लागि राहत प्रदान

1.3K

दुबईमा निधन भएकी मदानेकी स्व. गीताकाे काजक्रियाकाे लागि राहत प्रदान

गुल्मीको मदाने गाउँपालिका–२ बाँझकटेरी निवासी स्वर्गीय गीता घर्ती मगरको काजक्रियाका लागि गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले आर्थिक सहयोग प्रदान गरेका छन् । गरिबीका कारण रोजगारीको सिलसिलामा करिब १५ वर्षअघि दुबई गएकी गीता घर्ती मगरको पाँच महिना अघि दुबईमै निधन भएको थियो । उनको शव नौ दिनअघि मात्र नेपाल ल्याइ अन्त्येष्टि गरिएको परिवार स्रोतले जनाएको छ ।
स्व. घर्तीका तीन छोरी नेपालमै रहेका छन्, जसमा कान्छी छोरी १६ वर्षकी छन् । आर्थिक अभावका कारण दैनिक गुजारा चलाउनै कठिन भइरहेको अवस्थामा हिन्दु परम्पराअनुसार काजक्रिया गर्नसमेत समस्या परेको थियो ।
यही अवस्थालाई मध्यनजर गर्दै मदाने गाउँपालिका अध्यक्ष कुँवरले आफूले गाउँपालिकाबाट प्राप्त गर्ने सुविधावापतकाे रकमकाट १० हजार रुपैयाँ सहयोग गरेका हुन् । उक्त रकमको चेक नवौँ दिनको पुण्यतिथिका अवसरमा परिवारलाई हस्तान्तरण गरिएको जनाइएको हाे ।
घरको अभावका कारण स्व. घर्तीका छोरीहरू आफ्नी मावली आमा जालपा झाँक्रीको गोठमा बसेर काजक्रिया गरिरहेका छन् ।
अध्यक्ष कुँवरले विपन्न तथा समस्यामा परेका नागरिकहरूको दुःखमा साथ दिनु आफ्नो दायित्व भएको उल्लेख गर्दै यस्ता मानवीय कार्यमा सधै सहयोग रहने बताए ।
स्थानीयवासीले पनि कठिन परिस्थितिमा सहयोग गरेको भन्दै अध्यक्षप्रति आभार व्यक्त गरेका छन् । नेपाली काँग्रेस मदानेका अध्यक्ष कुवरले पालिकाकाे अध्यक्ष भएदेखि नै पालिबाट आफूले प्राप्त गर्ने सुविधा वापतकाे रकम सिधै पार्टीकाे खातामा जाने व्यवस्था मिलाएका छन् । त्यसरी आएकाे पैसा पार्टी समितिकाे निर्णयमा गरिव तथा विपन्न परिवारमा राहत, स्वास्थ्य तथा शिक्षाकाे क्षेत्रमा प्रदान गरिएकाे उनले बताए ।