राष्ट्रिय परोपकार महासंघ, जिल्ला कार्यसमिति रुपन्देहीले भाेली बुधबारदेखि बुटवलकाे सेमलारमा श्रीमद्भागवत धन-धान्याचल ज्ञान-महायज्ञ आयाेजना गरेकाे छ । सामाजिक, धार्मिक एवं परोपकारी कार्यलाई थप सशक्त बनाउने, समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने तथा सेवा भावना जागृत गराउने उद्देश्यले महायज्ञ गर्न लागिएकाे मंगलबार पत्रकार सम्मेलन गरि जानकारी गराईएकाे हाे ।
भाेली अर्थात फागुन ६ देखि १३ गतेसम्म बार्षिक अनुष्ठानका रुपमा आयोजना गरिने महायज्ञकाे तयारी पूरा भएकाे छ ।
महायज्ञबाट संकलित रकमबाट बुटवल उपमहानगरपालिका-१५, सेमलार, चम्किपुर, भाटाप्रगति टोल क्षेत्रमा ‘परोपकार कुञ्ज धाम’ निर्माण तथा विस्तार गर्ने उद्देश्य लिईएकाे छ ।
अघिल्लाे वर्ष महायज्ञबाट संकलित रकमबाट उक्त कार्यकाे शुभारम्भ गरिएकाे र क्रमश: पूरा गर्ने लक्ष्य लिईएकाे निर्माण समितिका अध्यक्ष तथा महायज्ञ आयाेजक मुल समितिका सारथी समाजसेवी हरिध्वज मल्लले जानकारी गराउनु भयाे ।
‘सेवा नै धर्म’ हो भन्ने मूल नारासहित वि.सं. २०६४ मा स्थापना भएको राष्ट्रिय परोपकार महासंघले स्थापना कालदेखि नै देशव्यापी रूपमा विविध सामाजिक, धार्मिक तथा परोपकारी अभियानहरू सञ्चालन गर्दै आएको र साेही अभियान अन्तरगत महायक्ष गर्न लागिएकाे संरक्षक तथा कथा वाचक कमलनयन गाैतमले जानकारी गराउनु भयाे ।
उहाँका अनुसार महासंघले विभिन्न जिल्लामा प्रकृति तथा हिमाल संरक्षणका लागि ‘कल्पवृक्ष अभियान’, गौ-संरक्षणका लागि गौशाला निर्माण, ज्येष्ठ नागरिकका लागि ‘परोपकार ज्येष्ठ नागरिक चौतारी’, ‘दैनिक एक रुपैयाँ दान’, ‘मुठीदान’, धर्मशाला, अन्नक्षेत्र, अनाथ तथा असहाय वालवालिकाका लागि बाल आश्रम, वैदिक संस्कृति संरक्षणका लागि गुरुकुल आश्रम स्थापना लगायतका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
महायज्ञलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न १ हजार ८ सदस्यीय मूल आयोजक समिति, २७ सदस्यीय उपसमिति तथा १७ सदस्यीय सचिवालय समिति गठन गरिएको महायक्ष मुल आयाेजक समितिका संयोजक डिल्लीराज भण्डारी जानकारी गराउनु भयाे । महायज्ञको आयोजनाले स्थानीय समुदायलाई धार्मिक र सामाजिक योगदान पुर्याउने पनि उहाँले विश्वास व्यक्त गर्नुभयाे ।