नेकपा एमालेले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अवसर पाए मन्त्रिपरिषद् बैठकबाटै तत्काल निर्णय गराएर ११ वटा प्राथमिक काम अघि बढाउने प्रतिबद्धता जनाएको छ । एमालेले घोषणापत्र सार्वजनिक गर्दै युवा, श्रमिक, विद्यार्थी, महिला, शिक्षक र सुरक्षाकर्मी लक्षित कार्यक्रमहरू कार्यान्वयनमा ल्याइने जनाएको हो ।
घोषणापत्रमा १८ देखि २८ वर्ष उमेर समूहका युवालाई एक वर्षसम्म मासिक १० जीबी निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने उल्लेख छ । साथै, सूचना प्रविधि र स्टार्टअप उद्यम प्रवर्द्धनका लागि युवालाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड उपलब्ध गराइने प्रतिबद्धता जनाइएको छ । एमालेले एआई, कन्टेन्ट क्रिएसन, डिजिटल मार्केटिङ, एप विकासलगायतका क्षेत्रमा तालिम र सेवा उपयोग सहज बनाउँदै १० लाख युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने लक्ष्य राखेको छ ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकको सम्मानस्वरूप उनीहरूको बैंक खातामा वार्षिक ५ हजार रुपैयाँ जम्मा गरिने उल्लेख गरिएको छ । साथै, विदेश जाने सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गरिने प्रतिबद्धता जनाइएको छ ।
प्राविधिक धारमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण उपलब्ध गराउने तथा सरकारी र निजी क्षेत्रमा न्यूनतम पारिश्रमिकसहितको इन्टर्नसिपको व्यवस्था मिलाइने एमालेले जनाएको छ । त्यस्तै, सबै विद्यालयका किशोरीलाई निःशुल्क स्यानिटरी प्याड र कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराइने योजना समेटिएको छ ।
श्रमिकहरूको न्यूनतम मासिक पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने लक्ष्यसहित सबै प्रकारका श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा समेटिने घोषणा गरिएको छ । सामुदायिक तथा निजी विद्यालयका शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गरिने र शिक्षकको मर्यादाक्रम तोकिने उल्लेख छ ।
महिला उद्यमीलाई २० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण तथा निःशुल्क बीमा सुविधा प्रदान गरिने प्रतिबद्धता गरिएको छ । स्वास्थ्य स्वयंसेविकालाई मासिक २० हजार भत्ता दिने घोषणा पनि गरिएको छ । गर्भवती महिलालाई सुत्केरीअघि र पछि स्वास्थ्य संस्थासम्मको यातायात खर्च दोब्बर गर्ने, प्रतिजन्म २० हजार रुपैयाँ मातृशिशु पोषण भत्ता दिने तथा ५ लाख रुपैयाँसम्मको निःशुल्क जीवन बीमा गरिने उल्लेख गरिएको छ ।
राज्यद्वारा गरिब परिवारको रूपमा पहिचान भएका परिवारले २०८२ भदौसम्म लिएको २५ हजार रुपैयाँसम्मको ऋण मिनाहा गरिने र उनीहरूलाई सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गराइने एमालेले जनाएको छ ।
राष्ट्रको सुरक्षा र सार्वभौमिकताका लागि योगदान दिएका बहालवाला तथा अवकाशप्राप्त सुरक्षाकर्मीको सेवा–सुविधा, स्वास्थ्योपचार र सामाजिक सुरक्षालाई सुदृढ बनाइने प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएको छ । एमालेले यी कार्यक्रमहरूलाई आगामी सरकार गठनपछि मन्त्रिपरिषद् बैठकबाटै प्राथमिकतासाथ कार्यान्वयनमा ल्याउने प्रतिवद्धता गरेको छ ।