राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अवसर पाए सहकारी संस्थाका साना बचतकर्ताहरूको रकम सय दिनभित्रै फिर्ता गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत मा बिहीबार सार्वजनिक गरिएको वाचापत्रमा आमनागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताको खातामा रकम फिर्ता गरिने उल्लेख छ ।
रास्वपाले सहकारी क्षेत्रमा देखिएको संकट समाधानका लागि राज्यको तर्फबाट ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गर्ने घोषणा गरेको छ । उक्त कोषमार्फत संकटग्रस्त सहकारी संस्थाका बचतकर्तालाई प्राथमिकताका आधारमा भुक्तानी दिइने र त्यसको सुरुवात साना बचतकर्ताबाट गरिने वाचापत्रमा उल्लेख छ ।
पार्टीले बचतकर्ताको रकम सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै व्यवस्थित र संस्थागत समाधान खोज्ने प्रतिबद्धता जनाएको छ ।
कारबाही मात्र होइन, रकम फिर्ता मुख्य उद्देश्य
रास्वपाले सहकारी सञ्चालकलाई जेल हाल्ने मात्र नभई बचतकर्ताको रकम फिर्ता गराउनु नै आफ्नो प्रमुख लक्ष्य भएको स्पष्ट पारेको छ ।
वाचापत्रमा नीतिअनुसार सञ्चालकहरू बचत फिर्ता गर्न तयार भए कानुनी मिलापत्रको बाटो खुला गरिने उल्लेख छ। यस्तो अवस्थामा पूर्ण ग्यारेन्टी र निश्चित समयसीमा तोकेर सञ्चालकलाई थुनाबाहिरै बसेर सम्पत्ति परिचालन तथा ऋण असुली प्रक्रिया अघि बढाउने अवसर दिइने बताइएको छ ।
रास्वपाले सहकारी संकटलाई दीर्घकालीन नीतिगत सुधारमार्फत समाधान गर्दै बचतकर्ताको विश्वास पुनःस्थापित गर्ने दाबी गरेको छ ।