प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रुपन्देहीले बिहिबार साँझ बुटवलमा दीप प्रज्वलन गरेकाे छ ।
बुटवलकाे अस्पताल चाेकमा गिरएकाे दीप प्रज्वलन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेल, उद्योगी व्यवसायी, पत्रकार तथा प्रतिष्ठानका केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारी एवं सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा नगरप्रमुख पाण्डेयले प्रजातन्त्र दिवसको ऐतिहासिक महत्वबारे प्रकाश पार्दै २००७ साल फागुन ७ गते राणा शासनको अन्त्यसँगै नेपालमा प्रजातन्त्र स्थापना भएको स्मरण गराए । उनले प्रजातन्त्रले नेपाली जनतालाई स्वतन्त्र अभिव्यक्ति, राजनीतिक अधिकार र समान अवसरको मार्ग प्रशस्त गरेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिक अधिकारको संरक्षणमा सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताए ।
त्यस्तै प्रतिष्ठानकी अध्यक्ष रितु थापाले प्रजातन्त्र प्राप्तिका लागि भएका संघर्ष, बलिदान र योगदानको सम्मानस्वरूप दीप प्रज्वलन गरिएको बताइन् । उनले लोक तथा दोहोरी गीतमार्फत सामाजिक सचेतना, राष्ट्रिय एकता र लोकतान्त्रिक संस्कार प्रवर्द्धनमा प्रतिष्ठानले निरन्तर भूमिका खेल्दै आएको उल्लेख गरिन् ।
दीप प्रज्वलनसँगै सहभागीहरूले प्रजातन्त्रका लागि सहिदहरूले दिएको बलिदानको स्मरण गर्दै लोकतान्त्रिक व्यवस्था सुदृढ बनाउन सबै नागरिक सचेत र सक्रिय हुनुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रमले सांस्कृतिक माध्यमबाट लोकतान्त्रिक चेतना फैलाउने सन्देशसमेत दिएको आयोजकले जनाएको छ ।