राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लुम्बिनीकाे भैरहवा र गण्डकीकाे पाेखरामा फागुन ९ गतेका लागि तय गरेको प्रदेशस्तरीय चुनावी सभा स्थगित गरेको छ । पार्टी केन्द्रको निर्देशनअनुसार कार्यक्रम हाललाई रोकिएको जनाइएको छ ।
रास्वपा स्थानीय नेताहरुका अनुसार संगठनात्मक प्राथमिकता निर्धारण, रणनीतिक व्यवस्थापन तथा वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकनका कारण सभा स्थगित गरिएको हो । पार्टी केन्द्रीय कार्यालयबाट प्रदेश समितिलाई पठाइएको पत्रमा चुनावी अभियानलाई थप प्रभावकारी, अनुशासित र सुदृढ बनाउने उद्देश्यले कार्यक्रमको समय तथा स्वरूप पुनरावलोकन गर्न आवश्यक देखिएको उल्लेख छ ।
उक्त सभाको तयारी अन्तिम चरणमा पुगेको थियो । पत्रकार सम्मेलन, प्रचार–प्रसार सामग्री वितरण, मञ्च निर्माणलगायतका काम भइरहेका बेला अन्तिम घडीमा स्थगनको निर्णय आएको हो । तयारीमा संलग्न स्थानीय नेता–कार्यकर्तालाई केन्द्रबाट औपचारिक जानकारी गराइएको बताइएको छ ।
यसैबीच, दाङमा केही रास्वपा समर्थकहरूले नेकपा एमालेको झण्डा जलाएको तथा अध्यक्ष केपी शर्मा ओली विरुद्ध आपत्तिजनक नाराबाजी गरेको घटनापछि राजनीतिक माहोल तातेको छ । उक्त घटनाप्रति एमाले कार्यकर्ताले आपत्ति जनाएका छन् । यद्यपि रास्वपाले रुपन्देही सभा स्थगनको निर्णयलाई सो घटनासँग प्रत्यक्ष रूपमा जोडेर पुष्टि गरेको छैन ।
राजनीतिक विश्लेषकहरूका अनुसार चुनावी प्रतिस्पर्धा चर्किँदै जाँदा दलहरूले आफ्नो सन्देश र छवि व्यवस्थापनमा विशेष ध्यान दिन थालेका छन् । रास्वपाले पनि सम्भावित विवाद र गलत सन्देशबाट जोगिँदै संगठनात्मक अनुशासन सुदृढ गर्ने रणनीति अपनाएको बुझिएको छ ।
पार्टी स्रोतका अनुसार अब रुपन्देहीमा साना–साना भेटघाट, घरदैलो र लक्षित संवाद कार्यक्रममार्फत अभियानलाई निरन्तरता दिइनेछ ।