प्रतिनिधि सभा निर्वाचन-२०८२ नजिकिँदै गर्दा रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा विकासका एजेन्डासहित एमाले उम्मेदवार विष्णुप्रसाद पौडेल चुनावी मैदानमा उत्रिएका छन् । पूर्वाधारदेखि मानवीय विकाससम्मलाई एकसाथ अघि बढाउने लक्ष्यसहित उनले सार्वजनिक गरेको प्रतिबद्धतापत्रले रुपन्देही–२ लाई देशकै अग्रणी आर्थिक र शैक्षिक केन्द्रका रूपमा रूपान्तरण गर्ने योजना प्रस्तुत गरेको छ ।
एमालेले शुक्रबार सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा संविधानको रक्षा, सामाजिक न्याय, समानता र सुशासनलाई केन्द्रमा राख्दै समृद्ध रुपन्देही निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । भौतिक पूर्वाधार विस्तारसँगै शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रमा गुणात्मक सुधार ल्याउने कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।
एमालेले रुपन्देहीलाई विद्यालय र उच्च शिक्षाको प्रमुख केन्द्र बनाउने योजना अघि सारेको छ । कलेज तथा विद्यालयको पूर्वाधार विस्तार, दक्ष जनशक्ति व्यवस्थापन र गुणस्तरीय शिक्षामा जोड दिइने उल्लेख छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको क्षमता विस्तार गरी स्वदेशी तथा विदेशी विद्यार्थी आकर्षित गर्ने, नेपाल विश्वविद्यालय स्थापना प्रक्रियामा सहयोग गर्ने र लुम्बिनी वाणिज्य क्याम्पसलाई व्यवस्थापन तथा सूचना प्रविधि विश्वविद्यालयमा रूपान्तरण गर्ने लक्ष्य लिइएको छ ।
त्यस्तै बुटवल मेडिकल कलेज सञ्चालन, बुटवल बहुमुखी क्याम्पसको स्तरोन्नति, सामुदायिक क्याम्पसमा शैक्षिक भवन तथा छात्रावास निर्माण, कृषि र इन्जिनियरिङ क्याम्पस स्थापना तथा प्राविधिक शिक्षामा विशेष प्राथमिकता दिने योजना पनि समेटिएको छ ।
स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दै रुपन्देहीमै गुणस्तरीय उपचार उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको पूर्वाधार निर्माण सम्पन्न गरी उपकरण र जनशक्ति व्यवस्थापन गर्ने, सैनामैना र तिलोत्तमालगायत क्षेत्रमा आधारभूत अस्पताल स्तरोन्नति गर्ने तथा आयुर्वेद र प्राकृतिक चिकित्सा सेवाको विस्तार गर्ने योजना अघि सारिएको छ । स्वास्थ्य बीमा प्रभावकारी कार्यान्वयन र निःशुल्क रक्तसञ्चार सेवा उपलब्ध गराउने लक्ष्य पनि उल्लेख छ ।
युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने उद्देश्यसहित सूचना प्रविधिमा आधारित उद्योग प्रवर्द्धन, सफ्टवेयर, डाटा साइन्स, क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रमा सहुलियत ऋण उपलब्ध गराउने योजना सार्वजनिक गरिएको छ । स्टार्टअप कोष स्थापना, सीप विकास तालिम, अध्ययनसँगै काम गर्ने अवसर तथा विदेशबाट फर्किएका युवाको सीपलाई उत्पादनमा जोड्ने कार्यक्रम पनि समेटिएको छ ।
सिद्धार्थ राजमार्गको स्तरोन्नति, बुटवल–नारायणगढ सडक विस्तार, स्थानीय सडक र पुल निर्माणलाई प्राथमिकता दिइएको छ । बुटवल, तिलोत्तमा र सैनामैनालाई समेटेर ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास कार्यक्रम’ सञ्चालन गरी आधुनिक सडक, ढल, पार्क, फुटपाथ, स्मार्ट बसपार्क र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन गर्ने योजना अघि सारिएको छ ।
औद्योगिक क्षेत्र विस्तार, निजी लगानी आकर्षण, बुटवल औद्योगिक क्षेत्र स्तरोन्नति र एकीकृत जाँच चौकी सञ्चालनमार्फत उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्य लिइएको छ । कृषि क्षेत्रको आधुनिकीकरण, आधुनिक प्रविधि प्रयोग, किसानलाई तालिम, ऋण र बजार पहुँच सुनिश्चित गर्दै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
एमालेले सार्वजनिक गरेको प्रतिबद्धतापत्र मार्फत रुपन्देही-२ लाई शिक्षा, स्वास्थ्य, उद्योग, कृषि र पूर्वाधार विकासको नमुना क्षेत्र बनाउने दाबी गरिएको छ । योजनाहरू कार्यान्वयन भएमा समृद्ध, आधुनिक र आत्मनिर्भर रुपन्देही निर्माण सम्भव हुने पार्टीको विश्वास छ ।