तिलोत्तमामा ‘असल नेतृत्व’ अभियान : वक्तृत्वकला ग्राण्ड फिनाले सम्पन्न

1.3K

तिलोत्तमामा ‘असल नेतृत्व’ अभियान : वक्तृत्वकला ग्राण्ड फिनाले सम्पन्न

तिलोत्तमा नगरका विद्यार्थीबीच नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शुभयात्रा नेपाल रूपन्देहीले सञ्चालन गरेको नगरस्तरीय वक्तृत्वकला प्रतियोगिताको ‘ग्राण्ड फिनाले’ मणिग्राममा सम्पन्न भएको छ ।
नगरभित्रका सबै १७ वडामा चरणबद्ध रूपमा छनौट र प्रारम्भिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले ‘असल नेतृत्व विकास’ अभियानअन्तर्गत “मेरो वडा : समस्या र सम्भावना” विषयमा वडास्तरीय प्रतिस्पर्धा गराएको थियो । छनौट चरण पार गरेका उत्कृष्ट वक्ताहरूबीच “तिलोत्तमा नगरपालिका : समस्या र सम्भावना” विषयमा अन्तिम प्रतिस्पर्धा आयोजना गरिएको जिल्ला अध्यक्ष मुक्तिनाथ गैह्रेले जानकारी दिए ।
राममणि बहुमुखी क्याम्पसको सभाहलमा आयोजित प्रतियोगितामा तिलोत्तमा–४ डिङ्गरनगरकी दिया सुवेदी प्रथम भइन् । उनी बुटवल पब्लिक स्कूलकी विद्यार्थी हुन् । दोस्रो स्थान तिलोत्तमा–९ करहियाकी विनिशा बगालेले हासिल गरिन्, जो न्यू इन्भाइरनमण्ट मा.वि.मा अध्ययनरत छिन् । तेस्रो स्थान तिलोत्तमा–८ गोठवाकी अनुश्री शर्माले प्राप्त गरिन्, जो शान्ति नमूना मा.वि.की विद्यार्थी हुन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ११ हजार १ सय ११, ७ हजार ७ सय ७७ र ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित सम्मान गरिएको छ । अन्य सहभागीलाई जनही १ हजार १ सय ११ रुपैयाँका दरले प्राेत्साहन पुरस्कार प्रदान गरिएको थियो ।
प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण सहभागी थिए । उनले शुभयात्रा नेपालले अघि सारेका देवभूमि क्षेत्र विकास, गौ–चरण क्षेत्र संरक्षण, क्यान्सर अस्पताल स्थापना, फोहरमुक्त नेपाल अभियान तथा पर्यटन प्रवर्द्धनलगायत पञ्चसूत्रीय योजनालाई प्रशंसनीय बताए । आगामी दिनमा नगरपालिकाले संस्थासँग सहकार्य गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरे ।
संस्थाका केन्द्रीय अध्यक्ष मधुसुदन गैह्रेले करिब तीन दशकदेखि नेपाली समाजको आवश्यकता अनुरूप नेतृत्व विकास, सामाजिक सचेतना र राष्ट्रनिर्माणसँग जोडिएका कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
तिलोत्तमा नगरसमितिका संयोजक ईश्वरीप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तिलोत्तमा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुरज पंगेनी, तिलोत्तमा–१० का वडाध्यक्ष गोपाल प्रसाद घिमिरेलगायतले वक्तृत्वकला जस्ता कार्यक्रमले नीति निर्माण र सामाजिक रूपान्तरणमा सकारात्मक प्रभाव पार्ने धारणा राखे ।
संस्थाले गत कार्तिक अन्तिम सातादेखि १७ वटै वडामा छनौट प्रतिस्पर्धासँगै प्रारम्भिक प्रशिक्षण सञ्चालन गरेको थियो । अन्तिम चरणअघि फागुन २ गते सबै सहभागीका लागि ‘असल नेतृत्व’ विषयमा सात जना प्रशिक्षकबाट दिनभर विशेष तालिम समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा विभिन्न वडाका प्रतिनिधि, बालमैत्री सहजकर्ता तथा समितिका पदाधिकारीहरूले यस्ता रचनात्मक गतिविधिले युवामा आत्मविश्वास, सामाजिक जिम्मेवारीबोध र नेतृत्व क्षमताको विकासमा टेवा पुर्‍याएको बताएका थिए ।