५ हजारभन्दा बढीलाई रोजगारी दिएका चुन्न चुनावी मैदानमा : ‘एक घर–एक रोजगारी’ अभियान मुख्य एजेन्डा

1.3K

५ हजारभन्दा बढीलाई रोजगारी दिएका चुन्न चुनावी मैदानमा : ‘एक घर–एक रोजगारी’ अभियान मुख्य एजेन्डा

रुपन्देही–२ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल उद्योग, व्यापार र सेवामूलक क्षेत्रमा दीर्घ अनुभव भएका व्यवसायी नेताका रूपमा परिचित छन् । उनले आफ्ना उद्योग, अस्पताल र होटलमार्फत हालसम्म ५ हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएका छन् ।
नेपालमा युवाहरू विदेशिनुको प्रमुख कारण बेरोजगारी भएको उल्लेख गर्दै पौडेलले आफूले निजी क्षेत्रबाट सिर्जना गरेको रोजगारीको अनुभवलाई अब नीतिगत तहमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उद्योग क्षेत्रमा व्यापक संलग्नता

पौडेलका उद्योग रुपन्देही र कपिलवस्तुमा फैलिएका छन् । यशोदा फुड्सका बुटवल र कपिलवस्तुस्थित दुई युनिटमा २ हजारभन्दा बढी कर्मचारी कार्यरत रहेको बताइएको छ । उद्योगमा दुई सिफ्ट सञ्चालन हुने र स्थानीयलाई प्राथमिकतामा राखिएको पौडेलको भनाइ छ । बुटवल औद्योगिक क्षेत्रमा रहेको त्रिमूर्ति इन्डस्ट्रिजले मसला उत्पादन गर्दै आएको छ । यहाँ उद्योग, व्यवस्थापन र मार्केटिङ क्षेत्रमा गरी करिब १ हजार कर्मचारी संलग्न रहेको दाबी गरिएको छ ।
तिलोत्तमा नगरपालिकामा रहेको सोना प्याकेजिङले चाउचाउका र्यापर उत्पादन गर्छ भने सोना मल्टिलेयरबाट प्लास्टिकको दाना उत्पादन हुँदै आएको छ । यी दुई उद्योगमा ८ सयभन्दा बढीले रोजगारी पाएका छन् ।
त्यसैगरी, बुटवलको नयाँगाउँस्थित करेन्ट मसलामा करिब ३ सय कर्मचारी कार्यरत छन् । प्याकेजिङ र खाद्यसम्बन्धी उद्योगहरूमा दिन र रात गरी दुई सिफ्ट सञ्चालन हुँदा रोजगारीको अवसर विस्तार भएको छ ।

स्वास्थ्य र पर्यटन क्षेत्रमा लगानी

उद्योगसँगै स्वास्थ्य क्षेत्रमा पनि पौडेलको लगानी रहेको छ । बुटवलमा निजी क्षेत्रको ठूलो मानिने १ सय शैयाको बुटवल हस्पिटल प्रालि सञ्चालनमा छ । अस्पतालमा करिब ६ सय कर्मचारी—विशेषज्ञ चिकित्सक, मेडिकल अफिसर, नर्स, प्राविधिक, सहायक र सुरक्षाकर्मी-कार्यरत रहेका छन् ।
अस्पतालले गरिब तथा विपन्न बिरामीलाई सहुलियत र आवश्यकताअनुसार निःशुल्क उपचारको व्यवस्था गर्दै आएको प्रशासनको भनाइ छ । पर्यटन क्षेत्रमा पनि उनको लगानी रहेको बताइएको छ । बुटवलस्थित पाँचतारे होटल ह्यात प्यालेसमा ३ सयभन्दा बढीले रोजगारी पाएका छन्, जसमध्ये अधिकांश स्थानीय रहेका छन् ।

घोषणापत्र रोजगारी सिर्जनामा केन्द्रित

पौडेलको घोषणापत्र रोजगारी सिर्जनामा केन्द्रित छ । युवालाई डिजिटल प्रविधिसँग जोड्दै रोजगारीमुखी बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, पारदर्शी कर प्रणाली लागू गर्ने तथा उद्योग–व्यवसाय संरक्षणमार्फत रोजगारीलाई दिगो बनाउने उनको योजना छ ।
कृषिलाई प्राथमिकतामा राख्दै कृषि तथा पशुपन्छी व्यवसाय केन्द्र स्थापना, पकेट क्षेत्र निर्धारण, अनुदान, सरल ऋण, उत्पादन बिक्री केन्द्र, बिउ–मल र औषधिको सहज उपलब्धता तथा बीमाको व्यवस्था गर्ने कार्यक्रमसमेत अघि सारिएको छ ।

‘एक घर–एक रोजगारी’ अभियान

घोषणापत्रको मुख्य कार्यक्रमका रूपमा ‘एक घर–एक रोजगारी’ अभियान प्रस्तुत गरिएको छ । बेरोजगार युवालाई लक्षित गरी उद्योग स्थापनामा प्रोत्साहन, निजी क्षेत्रसँग सहकार्य र स्थानीय तहमा रोजगारी सिर्जना गर्ने योजना रहेको पौडेलले बताएका छन् ।
घरदैलो अभियानका क्रममा उनले “आफ्नै अनुभवलाई नीतिमा रूपान्तरण गरी प्रत्येक घरमा कम्तीमा एक रोजगारी सुनिश्चित गर्ने लक्ष्य राखेको” बताउँदै आएका छन् ।

औद्योगिक पूर्वाधार र प्राविधिक शिक्षा

बुटवल औद्योगिक क्षेत्र विस्तार र मोतिपुर औद्योगिक क्षेत्र सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख छ । साथै, प्राविधिक शिक्षालाई सुदृढ बनाउँदै इन्जिनियरिङ अध्ययन विस्तार गर्ने र दक्ष जनशक्ति उत्पादनमार्फत उद्योगलाई आवश्यक श्रमशक्ति उपलब्ध गराउने योजना अघि सारिएको छ ।
आफूले निजी क्षेत्रमा सिर्जना गरेको रोजगारीको अनुभवलाई राज्यको नीतिसँग जोड्दै ‘एक घर–एक रोजगारी’ अभियान सफल पार्ने संकल्पसहित पौडेल चुनावी मैदानमा सक्रिय छन् ।