निर्वाचन आचारसंहिता विपरीतका गतिविधिमा आयोगको रोक

1.3K

निर्वाचन आचारसंहिता विपरीतका गतिविधिमा आयोगको रोक

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत देखिएका गतिविधिमा कडाइ गर्ने जनाएको छ । आयोगले हालै तीन छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै बालबालिकाको प्रयोग, शैक्षिक संस्थाका जनशक्तिको राजनीतिक संलग्नता तथा भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोग जस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो ।
आयोगका अनुसार केही राजनीतिक दल तथा उम्मेदवारले चुनावी प्रचारमा बालबालिकालाई झण्डा बोक्न, जुलुस-यालीमा सहभागी गराउन तथा चुनाव चिन्ह अंकित सामग्री प्रदर्शन गराउन थालेको गुनासो प्राप्त भएको छ । विद्यालय समयमै विद्यालय नजिक राजनीतिक कार्यक्रम आयोजना गर्दा शैक्षिक वातावरणमा अवरोध पुगेको भन्दै आयोगले यस्ता गतिविधि नगर्न चेतावनी दिएको छ । बालबालिकाको अधिकार संरक्षणसम्बन्धी संवैधानिक र कानुनी व्यवस्था विपरीत हुने भएकाले यस्तो कार्य दोहोरिए कडा कारबाही गरिने जनाएको छ ।
त्यसैगरी, विद्यालय, महाविद्यालय र विश्वविद्यालयमा कार्यरत प्राध्यापक, शिक्षक तथा कर्मचारीले कुनै पनि दल वा उम्मेदवारको पक्ष-विपक्षमा प्रचारप्रसार गर्न नपाउने स्पष्ट पारिएको छ । शिक्षा ऐन र निर्वाचन आचारसंहिता अनुसार शैक्षिक संस्थालाई राजनीतिक प्रभावबाट टाढा राख्नुपर्ने उल्लेख गर्दै आयोगले अनुगमन तीव्र पारिएको जनाएको छ ।
यस्तै, केही स्थानमा धातु, काठ वा अन्य सामग्रीबाट बनेका भौतिक स्वरूपका निर्वाचन चिह्न बोकेर प्रचारप्रसार गरिएकोप्रति पनि आयोगले आपत्ति जनाएको छ । यस्ता सामग्रीले सुरक्षा जोखिम बढाउने भन्दै तोकिएको मापदण्डअनुसार कपडा, कागज वा फ्लेक्समा छापिएका चिन्हमार्फत मात्र प्रचार गर्न पाइने स्पष्ट गरिएको छ ।
आयोगले आचारसंहिता उल्लङ्घन गरेमा जरिवाना देखि उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्ने चेतावनी दिँदै सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवालालाई कानुनी दायित्व पालना गर्न आग्रह गरेको छ ।