रुपन्देही ५ मा भरतकुमार शाहका १० दृष्टि

1.3K

रुपन्देही ५ मा भरतकुमार शाहका १० दृष्टि

आसन्न प्रतिनीधि सभा निर्वाचनमा रुपन्देहीको क्षेत्र नं. ५ मा नेपाली काँग्रेस उम्मेद्वार भरतकुमार शाहले सुशासन र पारदर्शिता सहित विकासका १० दृष्टि अंगाडि सारेका छन् ।
उनको घोषणापत्रमा नेपाली काँग्रेसको ऐतिहासिक भूमिकासमेत स्मरण गरिएको छ । २००७ सालको प्रजातन्त्र स्थापनादेखि २०६२/६३ को जनआन्दोलन र २०७२ सालको संविधान निर्माणसम्म काँग्रेसले लोकतन्त्र, जनअधिकार, समावेशिता र राष्ट्रियताको पक्षमा निर्णायक भूमिका खेलेको उल्लेख गरिएको छ । यही लोकतान्त्रिक परम्परालाई बलियो बनाउँदै गुणस्तरीय लोकतन्त्रमार्फत नागरिकको जीवनस्तर उकास्ने लक्ष्य अघि सारिएको हो ।
शाहले रुपन्देही–५ लाई आर्थिक अवसरले भरिपूर्ण, सामाजिक न्यायमा आधारित र युवा–मैत्री निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारेका छन् । रोजगारी सिर्जना, उद्यमशीलता प्रवद्र्धन, कृषि तथा साना उद्योगको आधुनिकीकरण, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, तथा डिजिटल सेवामार्फत पारदर्शी प्रशासनिक प्रणाली निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ ।
“नेपालीलाई आफ्नै देशमा सम्मानित र आत्मनिर्भर बनाउनु हाम्रो मूल उद्देश्य हो,” शाहले प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् । उनले काँग्रेसलाई बदलिएको, उत्तरदायी र जनकेन्द्रित शक्तिका रूपमा स्थापित गर्दै देशलाई समुन्नतिको दिशामा अघि बढाउने दाबी गरेका छन् । उम्मेदवार शाहले “समृद्ध, समावेशी र आत्मनिर्भर निर्वाचन क्षेत्र निर्माण” आफ्नो मूल लक्ष्य रहेको उल्लेख गर्दै विकासका कार्यक्रमलाई व्यावहारिक र परिणाममुखी बनाइने प्रतिबद्धता जनाएका छन् ।

कृषि आत्मनिर्भरता पहिलो प्राथमिकता

घोषणापत्रमा कृषिलाई आधुनिक, उत्पादनमुखी र व्यवसायिक बनाउने योजना अघि सारिएको छ । सिँचाइ विस्तार, कृषि विद्युतीकरण, चिस्यान केन्द्र निर्माण, बीउ–मल सहज उपलब्धता, कोल्ड स्टोर र कृषि बजार व्यवस्थापनमार्फत किसानको आम्दानी वृद्धि गर्ने लक्ष्य राखिएको छ । कृषिमा युवा आकर्षण बढाउन प्राविधिक तालिम र सहुलियत ऋणको व्यवस्था गरिने उल्लेख गरिएको छ ।

धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन

क्षेत्रभित्रका धार्मिक, ऐतिहासिक र सांस्कृतिक सम्पदालाई संरक्षण र प्रवद्र्धन गरी पर्यटन विकास गर्ने कार्यक्रम पनि समेटिएको छ । ध्यान तथा रिट्रिट केन्द्र स्थापना, होमस्टे विस्तार र पूर्वाधार सुधारमार्फत आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने रणनीति सार्वजनिक गरिएको छ ।

सीमा व्यापार र आर्थिक गतिविधि विस्तार

सीमावर्ती क्षेत्रको सम्भावनालाई उपयोग गर्दै व्यापारिक केन्द्र स्थापना, कृषि तथा साना उद्योग प्रवद्र्धन र रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ । महिला सहकारी सुदृढीकरण, उद्यमशीलता विकास कोष स्थापना तथा घरेलु उद्योग प्रवद्र्धनमार्फत स्थानीय उत्पादनलाई बजारसँग जोड्ने योजना अघि सारिएको छ ।

युवा रोजगारी र डिजिटल सरकार

युवालाई सीपमूलक तथा प्राविधिक शिक्षा प्रदान गरी स्वरोजगार र उद्यमतर्फ उन्मुख गराउने प्रतिबद्धता जनाइएको छ । डिजिटल सेवा विस्तार, डिजिटल हेल्प डेस्क, निःशुल्क वाइ–फाइ, डिजिटल भुक्तानी प्रणाली र सेवा प्रवाहमा पारदर्शिता ल्याउने कार्यक्रम पनि घोषणापत्रमा समावेश छन् ।

शिक्षा, स्वास्थ्य र मानव विकास

गुणस्तरीय शिक्षा र सीपमूलक तालिमलाई जोड दिँदै विद्यालय पूर्वाधार सुधार, डिजिटल बोर्ड जडान, शिक्षक क्षमता अभिवृद्धि र प्राविधिक शिक्षाको विस्तार गर्ने योजना अघि सारिएको छ । स्वास्थ्यतर्फ प्राथमिक स्वास्थ्य केन्द्र सुदृढीकरण, विशेषज्ञ सेवा विस्तार र स्वास्थ्य बीमा पहुँच विस्तार गरिने उल्लेख छ ।

सुशासन र पारदर्शिता

घोषणापत्रमा भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा छिटो–छरितो बनाउने, पारदर्शी बजेट प्रणाली र नागरिक सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाइएको छ । उम्मेदवारले आफ्नो ‘१० दृष्टि’ कार्यान्वयनका लागि स्थानीय समुदाय, युवाशक्ति, महिला समूह र निजी क्षेत्रसँग सहकार्य गरिने बताएका छन् । “विकासको केन्द्रमा जनता” भन्ने नारासहित सार्वजनिक गरिएको योजना व्यवहारमा उतार्ने दाबी गरिएको छ ।