फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेपाली काँग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेललाई बुटवलका मतदाताले उत्साहजनक स्वागत तथा अभिनन्दन गरेका छन् ।
निर्वाचनको मिति आउन ८ दिन मात्र बाँकी रहँदा चुनावी अभियानलाई तीव्रता दिँदै उम्मेदवार पौडेल र समानुपातिकतर्फकी उम्मेदवार रिता सेनले बुधबार नवौं दिनको घरदैलो अभियान सञ्चालन गरेका हुन् । बिहान ७ बजेदेखि सुरु भएको अभियान बुटवल उपमहानगरपालिका–१० अन्तर्गत रामनगर क्षेत्रबाट प्रारम्भ भएको थियो ।
रामनगरबाट सुरु भएको टोली राजमार्ग चौराहा आसपासका विभिन्न टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेको थियो । घरघरमा पुगेर उम्मेदवारहरूले आशीर्वाद, सुझाव र गुनासा संकलन गरेका थिए । योगिकुटी क्षेत्र हुँदै सर्विस लेनमार्फत पुनः चौराहामा पुगेर बिहानको अभियान सम्पन्न भएको थियो ।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले विशेषगरी ढल निकासको समस्या, टोल सुधार कार्यक्रमको आवश्यकता, सडक स्तरोन्नति र सरसफाइ व्यवस्थापनका विषयमा आफ्ना मागहरू राखेका थिए । उम्मेदवार पौडेलले ती समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै अधुरा विकास निर्माणका काम पूरा गरी व्यवस्थित शहरी विकासमा जोड दिने बताएका थिए ।
दिउँसो १ बजेदेखि बुटवल उपमहानगरपालिका–८ मा पनि घरदैलो अभियान सञ्चालन गरिएको थियो । शुक्रपथ, कुशुमपथ, धर्मपथ, त्रिभुवनपथ, दशरथपथ, श्रवणपथ तथा भाटभटेनी लाइन आसपासका क्षेत्रमा पुगेर उम्मेदवारहरूले मतदातासँग छलफल गरेका थिए । स्थानीयले खानेपानी, ढल निकास, सडक व्यवस्थापन र ट्राफिक समस्याबारे गुनासा राखेका थिए । वर्षायाममा ढल अभावका कारण हुने सास्तीबारे समेत ध्यानाकर्षण गराइएको थियो ।
अभियानका क्रममा स्थानीयले उम्मेदवार पौडेललाई फूलमाला, टीका तथा खादा लगाएर स्वागत गर्दै सफलताको शुभकामना दिएका थिए । पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिताले अभियान थप उत्साहपूर्ण बनेको थियो ।
उम्मेदवार पौडेलले विकास, सुशासन र जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका समस्या समाधानलाई आफ्नो मुख्य एजेण्डा बनाएको उल्लेख गर्दै बाँकी दिनहरूमा पनि घरदैलो अभियानलाई निरन्तरता दिइने बताएका छन् । निर्वाचन परिचालन समितिका संयोजक तथा क्षेत्रीय सभापति प्रजापाल गिरीका अनुसार आगामी दिनमा अन्य वडामा समेत भेटघाट कार्यक्रमलाई थप तीव्र बनाइनेछ ।
निर्वाचनको मिति नजिकिँदै जाँदा बुटवल क्षेत्रमा चुनावी चहलपहल बढ्दै गएको देखिएको छ ।