काठमाडौं । एमालेनिकट अनेरास्ववियुको २२ औं राष्ट्रिय सम्मेलन जारी छ । यसै सन्दर्भमा अनलाइनखबरले संस्थापन पक्ष र माधव नेपाल पक्षबाट अध्यक्ष एवं महासचिवमा प्रतिस्पर्धा गरिरहेका चारजना विद्यार्थी नेताको पृष्ठभूमि केलाउने प्रयास गरेको छ ।संयोग कस्तो परेको छ भने केपी ओली पक्षबाट अध्यक्षको उम्मेदवार बनेकी काभ्रेकी नवीना लामा माओवादी नेताकी छोरी हुन् । नविनाका पिता मानिक लामा विप्लव नेतृत्वको नेकपा माओवादीमा कार्यरत छन् ।उता माधव नेपाल समूहबाट अध्यक्षको प्रत्यासी बनेका काभ्रेकै दीपक गौतमचाँहि माओवादी पीडित हुन् । विगतमा माओवादीले उनलाई पिट्दा पिट्दै ‘मर्यो’ भनेर फालिदिएका थिए । उनी बाँचेर यो ठाउँसम्म आइपुगेका छन् ।राजनीतिमा परिवारका सदस्य कहाँ छन् भन्ने कुराको खासै महत्व रहँदैन । जस्तै- मात्रिकाप्रसाद कोइरालाका छोरा कमल कोइराला एमालेको नेता बनेकै छन् । अहिले अखिलको महासचिव पदमा ओली पक्षबाट उम्मेद्वार बनेका ऐन महरका पिता नेपाली कांग्रेसका स्थानीय नेता हुन् । उनका हजुरबुबा पञ्चायतकालमा प्रधानपञ्च थिए । यद्यपि महर कमल कोइरालाजस्तै गरी प्रतिवद्ध भएर कम्युनिष्ट बनेका छन् ।अखिलका वौद्धिक नेता मानिने महासचिवका अर्का प्रत्यासी अब्दुल हुसेन खानका पिताचाँहि कुनै दलका नेता नभएर व्यापारी हुन् । अब्दुल अखिलभित्र इमान्दार एवं वौद्धिक नेता मानिन्छन् । र, उनी अखिलको पदाधिकारीका एक्ला मधेसी उमेद्वार पनि हुन् ।
निर्मल लामाको ‘सेल्टर’मा हुर्केकी नविना
काभ्रेको मादन कुँडारीमा ०४० सालमा जन्मिएकी नविना लामा कक्षा-६ मा अध्ययन गर्दादेखि नै अखिलको राजनीतिमा होमिएकी थिइन् । लामा अहिले अनेरास्ववियुको महासचिव छिन् । र, रामकुमारी झाँक्रीपछि दोस्रो महिला अध्यक्ष बन्ने तयारीसहित २२ औँ राष्ट्रिय सम्मेलनमा अध्यक्षमा प्रतिस्पर्धामा गरिरहेकी छिन् ।विद्यालय तहको अध्ययनमै १२ वर्षको उमेरदेखि राजनीतिमा होमिएकी नविना निरन्तर राजनीतिमा लागेको २० वर्ष पूरा भैसकेको छ । विद्यालय तहमा अध्ययन गर्दा नविनाले विभिन्न जिम्मेवारीसहित अध्यक्षसम्म भएकी थिइन् ।
पछि उनी जिल्ला कमिटीको नेतृत्वमा प्रवेश गरेपछि पनि सदस्य, कोषाध्यक्ष हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी सम्हाल्न पुगिन् ।
काठमाडौंको बानेश्वर क्याम्पसमा उच्च शिक्षा अध्ययन सुरु गरेकी नविना ०६० सालको स्ववियु निर्बाचनमा बानेश्वर क्याम्पसको सचिव पदमा निर्वाचित भइन् । ०६२ को निर्वाचनमा सोही क्याम्पसको स्ववियू सभापतिमा निर्वाचित भइन् ।
अनेरास्ववियुको १४ औँ, १५ औं र १६ औँ राष्ट्रिय सम्मेलनबाट रापरिषद सदस्य निर्वाचित भएकी उनले १७ औँ सम्मेलनबाट केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्न पुगिन् । १८ औँ राष्ट्रिय सम्मेलनमा सचिवालय सदस्य निर्वाचित भएकी नविनाले महिला विभाग प्रमुखको जिम्मेवारी सम्हालिन् ।
त्यस्तै १९ औं राष्ट्रिय सम्मेलनमा पनि सचिवालय सदस्यमै निर्वाचित भएपछि प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालिन् । जनकपुरमा भएको २० औँ राष्ट्रिय सम्मेलनबाट उनी सचिवालय सदस्यबाट उपाध्यक्षको जिम्मेवारीमा पुगिन् । काठमाडौँमा सम्पन्न २१ औँ सम्मेलनबाट उनी पार्टी र संगठनको आग्रहमा एक पद घटुवा भएर महासचिवको उम्मेदवार बनिन् । सो निर्वाचनमा झिनो मतान्तरले विजयी हुँदै लामा महासचिव बनिन् । त्यसबेला नविनाको निकटतम प्रतिद्वन्द्वी रचना खड्का थिइन् ।
अहिले २२ औं सम्मेलनमा अध्यक्षको प्रत्यासी बनेकी लामा कम्युनिष्ट राजनीतिबाट हुर्किएकी हुन् । उनको घर कम्युनिष्ट आन्दोलका एक हस्ती निर्मल लामाको ‘सेल्टर’ थियो । त्यसैले उनको परिवार पनि कम्युनिष्ट राजनीतिप्रति आकर्षित भयो ।
उनका बुबा पनि भूमिगतकालदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय थिए । ‘पारिवारिक वातावरणले पनि मलाई राजनीतिप्रति आकर्षित गर्यो,’ नविना भन्छिन् ।
मृत्युको मुखबाट फर्किएका दीपक
दीपक गौतम काभ्रेको गोठपानी गाविसको कोशीपारि ०४३ सालमा जन्मिएका हुन् । विद्यालय तहको अध्ययन कोशीपारिबाटै पूरा गरेका गौतम कक्षा-७ मा अध्ययन गर्दादेखि नै अनेरास्ववियुको राजनीतिमा होमिएका हुन् ।
कक्षा-९ मा अध्ययन गर्दा जिल्ला कमिटी सदस्य निर्वाचित भएका उनीपछि जिल्ला कमिटीको सह-सचिव, उपाध्यक्ष हुँदै दुई कार्यकाल अध्यक्षको जिम्मेवारीमा काभ्रेको अनेरास्ववियुमा रहे ।
अनेरास्ववियुको १७ औं सम्मेलनबाट केन्द्रीय कमिटीमा प्रवेश गरेका दीपक अहिले पनि निरन्तर कमिटीमा रहँदै आएका छन् । उनी अनेरास्ववियुको १८ औं र १९ सम्मलेनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएका थिए ।
त्यही कार्यकालमा वागमती विषेश ब्युरोको समेत जिम्मेवारी सम्हालेका उनी २० औं सम्मेलनबाट कोषाध्यक्षमा निर्वाचित भए । २१ औं सम्मेलनबाट उपाध्यक्ष निर्वाचित भएका गौतम अहिले अध्यक्षका प्रत्यासी छन् ।
राजनीतिमा लागेपछि दर्जनौं चुनौतीको सामना गरेका दीपक कैयौंपटक मृत्युको मुखबाट फर्किएको बताउँछन् । तर, राजनीतिक जीवनमा सधैं घोचिरहने घटना हो, काभ्रेको तालढुंगा घटना ।
तालढुंगामा ०६४ को पुस १६ गते अनेरास्ववियुको भव्य कार्यक्रम थियो । दीपक त्यतिबेला अनेरास्ववियुको केन्द्रीय कमिटीमा थिए । उनी सुस्ता बचाउ अभियानबाट त्यही कार्यक्रममा सहभागी हुन हेटौंडाको बाटो हुँदै त्यहाँ पुगेका थिए ।
काभ्रे सदरमुकामबाट हिँडेर जाँदा करिब १९ घण्टा लाग्ने त्यो ठाउँको कार्यक्रममा उनी तत्कालीन विद्रोही माओवादी लडाकुहरुबाट मरणासन्न हुनेगरी कुटिए ।
‘वाइसिएलकै क्याम्प नजिक हाम्रो कार्यक्रम समापनको तयारी भैरहेको थियो । त्यतिबेला सयौंका संख्यामा लडाकुहरु आएर घेरा हालेर अन्धाधुन्द कुट्न थाले । भाग्न सक्नेहरु भागे, माफी माग्नेहरुले मागे । तर, म पिठ्युँ फर्काएर भागिन, सकुञ्जेल सामना गरिरहेँ,’ गौतमले भावुक हुँदै भने, ‘तर उनीहरुले भाला, खुकुरी जस्ता घरेलु हतियारको अगाडि मेरो के जोर चल्थ्यो र ? मलाई मर्यो भनेर सिस्नोको झ्याङ्मा मिल्काएर उनीहरु हिँडे । पछि अनेरास्ववियुको केन्द्रीय नेतृत्वले उद्धार गरेर राजधानी ल्याएर उपचार गर्यो । होस खुल्दा म काठमाडौंको शिक्षण अस्पतालको बेडमा थिएँ ।’
यो घटनापछि कम्युनिष्ट अतिवाद र हिंसाको राजनीतिविरुद्ध झन् डटेर अघि बढ्ने प्रेरणा मिलेको दीपक बताउँछन् । उनलाई राजनीतिप्रतिको आकर्षण बढ्नुको अर्को कारण रहेछ कविता प्रतियोगितामा प्रथम हुनु । ‘म कवि थिइँन, मलाई कविता लेख्न आउँदैनथ्यो, तर, मेरो कविता प्रथम भयो,’ उनले भने, ‘सायद त्यो कविता पुरस्कृत नभएको भए म कम्युनिष्ट राजनीतिप्रति बढी आकर्षित नहुने थिएँ कि ?’
आदर्श र निष्ठाका प्रतीक अब्दुल
माधव नेपाल खेमाबाट महासचिवका दाबेदार अब्दुल हुसेन खान सोहरवा गाविस २ बर्दियामा २०३८ सालमा जन्मिएका हुन् । हालको स्थायी बसोबास बाँकेको कोहलपुर नगरपालिका-४ मदनचोकमा छ ।
बुवा सामान्य ब्यापारी भए पनि प्रजातन्त्र स्थापनादेखि नै वाम समर्थक भएकाले पनि आफू कम्युनिष्ट राजनीतिमा लागेको उनी बताउँछन् । बुवा ०५४ सालको स्थानीय निर्बाचनमा बाँकेको रझेना गाविसको वडा सदस्य पदमा एमालेबाट निर्बाचन लडेका थिए ।
अब्दुल अनेरास्ववियूको राजनीतिमा बौद्धिक, निष्ठावान र खारिएका व्यक्ति मानिन्छन् । स्कूल पढ्दादेखि नै उनी कम्युनिष्ट राजनीतिमा लागेका थिए । त्रिभुवन माविको स्कुल कमिटी सचिव हुँदै जिल्ला अध्यक्षको जिम्मेवारी उनले ०५३ सालमा निर्वाह गरेका थिए ।
त्यसपछि बाँके क्षेत्र नम्बर १ को अनेरास्ववियू अध्यक्ष पनि बने । ०५६ सालमा उच्च शिक्षा हासिल गर्न बागेश्वरी क्याम्पस भर्ना भएका उनी सोही कलेजमा ०६० मा स्ववियु सभापतिमा निर्वाचित भए ।
त्यसपछि ०६२ सालमा भेरी अञ्चलको सचिव हुँदै संयोजकको जिम्मेवारी पूरा गरेका अब्दुलले मध्यपश्चिम व्युरोको सचिव भएर पनि काम गरे ।
अनेरास्ववियुको १७ औं राष्ट्रिय सम्मेलनबाट रापस सदस्य निर्बाचित भएका उनी चितवनमा आयोजित १८ औं सम्मेलनमा आयोजक कमिटी सदस्य थिए । १९ औं सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्बाचित भएका उनले त्यतिबेला मध्यपश्चिम ब्युरोको सचिव भएर कुशलतापूर्वक जिम्मेवारी पूरा गरेका थिए ।
त्यस्तै २० औं राष्ट्रिय सम्मेलनमा सचिवालय सदस्यमा निर्वाचित भएपछि केन्द्रीय योजना तथा अनुगमन विभागको प्रमुख भएर काम गरे र त्योसँगसँगै भेरी अञ्चल संयोजकको जिम्मेवारी पनि पूरा गरे ।
अखिललाई गैरराजनीतिक हर्कत र गैर राजनीतिक समुहबाट जोगाउनुपर्छ भन्ने धारणा राख्ने उनी २१ औं राष्ट्रिय सम्मेलनमा खुलाबाट केन्द्रीय सचिवमा निर्वाचित हुन सफल भए ।
हाल पूर्वाञ्चलका मेची, कोशी, सगरमाथाको समन्वयकर्ता रहेका अब्दुल महासचिव पदको प्रतिस्पर्धामा छन् ।
पूर्वदेखि पश्चिमसम्मको राजनीतिमा सक्रियरुपमा लागेका अब्दुल भन्छन्,’जतिबेलादेखि मैले यो समाजलाई चिनेँ । म अखिलको झन्डा बोकेर समाज परिवर्तनको बाटोमा हिडेँ । मेरो जीवनको सबै उर्बर समय नेकपा एमाले र अखिलको झन्डा बोकेरै बित्यो । यो समाज बदल्न आजसम्म हिँडिरहेको छु । समाज बदल्नेभन्दा मेरो बाँकी कुनै सपना छैन ।’
अब्दुल आफ्नो प्रचार सामाग्रीमा लेख्छन्- मिचिन्छ इमान, बेचिन्छ स्वाभिमान, सिद्धिन्छ निष्ठाहरुको इतिहास, नआए अब्दुल हुसेन खान ।
भण्डारीको प्रेरणाबाट कम्युनिष्ट बनेका महर
वि.सं. ०४० सालमा बझाङ जिल्लाको सुवेदामा मध्यम वर्गीय परिवारमा जन्मिएका ऐन महर ओली खेमाबाट महासचिवका उम्मेद्वार हुन् । राजनीतिमा उनको पुस्तान्तरण गज्जबको छ । उनका हजुरबुवा प्रधानपञ्च थिए भने बुबा गाउँमा कांग्रेसका प्रभावशाली नेता ।
राजनीतिको त्रिवेणीमा परेका महरलाई न हजुरबुवाको पञ्चायती राजनीतिले तान्यो, न त बुबाको कांग्रेसी राजनीतिले । उनी त कम्युनिष्ट राजनीतिमा सक्रिय भए ।
‘कम्युनिष्टप्रतिको आकर्षण मलाई मदन भण्डारीको हत्यापछि बढेको हो,’ महर भन्छन्, रेडियोमा मदन भण्डारीबारे बढी समाचार आउँथ्यो । मलाई विस्तारै मदन भण्डारी कम्युनिष्ट थिए भन्ने ज्ञान हुँदै गयो र कम्युनिष्ट राजनीतितर्फ बढी आकर्षित भएँ ।’
बुबाले महरलाई नेविसंघको निकै प्रभाव रहेको त्रिचन्द्र क्याम्पसमा विज्ञान विषय पढ्न भर्ना गरिदिए । तर, कम्युनिष्ट राजनीति टुसाउँदै गरेका महर बुबा गाउँ फर्किने वित्तिकै अमृत साइन्स कलेजमा भर्ना भएर पढ्न थाले । त्यहाँ अनेरास्ववियु र अखिल क्रान्तिकारीको जगजगी थियो । पछि संगठन बिस्तार गर्ने उद्देश्यसहित पार्टीका नेताहरुको आग्रहमा उनी फेरि त्रिचन्द्रमै आए ।
१८ औं राष्ट्रिय सम्मेलनमा अनेरास्ववियुको केन्द्रीय सदस्य पदमा उम्मेदवार बने तर पराजित भए । पछि उनी विभागको सचिव भए । पोखरामा सम्पन्न १९ औं राष्ट्रिय सम्मेलनबाट महर केन्द्रीय सदस्य निर्वाचित भए ।
जनकपुरमा सम्पन्न २० औं सम्मेलनबाट उनी सचिवालय सदस्य निर्वाचित भए भने काठमाडौँमा सम्पन्न २१ औं सम्मेलनबाट उनी उपाध्यक्ष निर्वाचित भए । २२ औं सम्मेलनबाट उनी महासचिव बन्ने तयारीमा छन् ।