आज देशभर एकैसाथ प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोग ले जनाएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अब मतदाताले मतदान गर्न मात्रै बाँकी रहेको बताएका छन् । उनका अनुसार यो निर्वाचन ‘आकस्मिक रूपमा हुन लागेको’ भए पनि संवैधानिक दायित्वअनुसार समयमै सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको छ ।
गत भदौमा भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की को नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी निर्वाचन मिति घोषणा गरेका हुन् । आयोगले यसलाई संवैधानिक प्रक्रिया र लोकतन्त्रको वैधता नवीकरण गर्ने अभ्यासका रूपमा व्याख्या गरेको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा जारी विशेष अपिलमा आयुक्त भण्डारीले मतदानलाई लोकतन्त्र सुदृढीकरणको आधार भएको उल्लेख गर्दै भयरहित र उत्साहपूर्ण सहभागिताका लागि सबै मतदातालाई आग्रह गरेका छन् ।
देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् । तीमध्ये ३ हजार ६८० अति संवेदनशील, ४ हजार ४४२ संवेदनशील र २ हजार ८४५ सामान्य केन्द्र रहेका छन् । १४३ अस्थायी मतदानस्थल पनि तोकिएका छन् ।
सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा निर्वाचन प्रहरी गरी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । तीन घेराको सुरक्षा व्यवस्थाअन्तर्गत बाहिरी घेरामा सेना, बीचमा सशस्त्र प्रहरी र भित्री घेरामा नेपाल प्रहरी खटिने व्यवस्था गरिएको छ । गृह मन्त्रालयसँगको समन्वयमा तयार गरिएको सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनमा रहेको आयोगले जनाएको छ । हालसम्म निर्वाचन बिथोल्ने कुनै भूमिगत तत्वको पहिचान नभएको पनि जानकारी दिइएको छ ।
यसपटक १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता मतदानका लागि योग्य छन् । जेनजी आन्दोलनपछि झण्डै १० लाख नयाँ मतदाता थपिएका छन् । पछिल्लो एक सातामा मात्रै करिब आठ लाखले काठमाडौं उपत्यका छाडेको तथ्यांकले मतदाताको उत्साह झल्किएको विश्लेषण गरिएको छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक प्रणालीमार्फत निर्वाचित हुनेछन् । दुवै प्रणालीतर्फ गरी ६ हजार ५४१ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ ३ हजार ४०६ र समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवार रहेका छन् ।
यसपटक युवाको उल्लेख्य सहभागिता देखिएको छ । ४० वर्ष वा सोभन्दा कम उमेरका उम्मेदवारको संख्या एक हजार ८२ छ, जसमा स्वतन्त्र उम्मेदवारको संख्या मात्रै ५७१ रहेको छ । राजनीतिक विश्लेषकहरूले यसलाई पुस्तान्तरण र वैकल्पिक नेतृत्वको संकेतका रूपमा व्याख्या गरेका छन् ।
दलहरू यसपटक एक्लाएक्लै चुनावी मैदानमा उत्रिएकाले मतदाताले नीति र नेतृत्वका आधारमा स्वतन्त्र निर्णय गर्न सक्ने वातावरण बनेको छ ।
निर्वाचन आयोगले स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता दोहोर्याउँदै ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा उत्साहपूर्वक सहभागी भई मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदातामा अपिल गरेको छ ।