नारी दिवसको अवसरमा बुटवलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १३५ युनिट रगत संकलन भएको छ । ११६औं नारी दविसको अवसरमा नेपाल स्वयमसेवी रक्तदाता समाजको आयोजामा आईतबार बुटवल उपमहानगरपालिका वडा नं. ५ स्थित बालमन्दिर परिषरमा गरिएको रक्तदान कार्यक्रममा १३५ युनिट रगत संकलन भएको समाजकी सदस्य तथा कार्यक्रम संयोजक जानकी नेपालले बताईन् ।
कार्यक्रम रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको हो । उनका अनुसार यो कार्यक्रममा बुटवलमा क्रियाशिल २८ वटा संघसंस्थाले सहकार्य गरेका थिए । त्यसमध्ये २५ वटा संघसंस्था महिलासंग सम्बन्धित हुन् ।
समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले रक्तदान मानव जीवनसंग जोडिएको विषय भएकाले पुण्य कार्य भएको बताए ।
हरेक बर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै आएको छ । यस बर्ष अन्तर्राष्ट्रिय नारी दिवसका लागि ‘सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अधिकार’ नारा तय गरिएको छ । यस नाराले समाजमा रहेका संरचनागत अवरोध हटाउने, भेदभावपूर्ण कानुन अन्त्य गर्ने तथा महिला र बालिकाको अधिकार सुरक्षित गर्न कानुनी संरक्षण बलियो बनाउने विषयमा जोड दिएको छ ।
मार्च ८ को ऐतिहासिक गरिमालाई विश्वभर महिला अधिकारको उत्सवका रूपमा मनाइँदैछ । यस दिवसको सुरुवात ११८ वर्षअघि श्रमिक महिलाको अधिकार प्राप्तिको आन्दोलनबाट भएको हो । सन् १९०८ मा न्यूयोर्कमा १५ हजार महिलाद्वारा कार्यघन्टा कटौती, समान ज्याला र मतदानको अधिकार माग गर्दै ऐतिहासिक प्रदर्शन गरेका थिए ।
त्यस्तै सन् १९१० मा कोपनहेगनमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा क्लारा जेट्किनको नारी दिवसलाई विश्वव्यापी बनाउने प्रस्ताव पारित भयो । सन् १९११ मा अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्याण्डमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा दिवस मनाउन सुरु गरियो । सन् १९१७ मा रुसी महिलाहरूको ‘रोटी र शान्ति’ आन्दोलनको बलमा मतदानको अधिकार सुनिश्चित भयो ।
त्यस्तै सन् १९७५ मा संयुक्त राष्ट्रसंघले आधिकारिक मान्यता दिएपछि विश्वभर एकैसाथ नारी दिवस मनाउने परम्पराको सुरुवात भएको हो । महिलाहरूको सामाजिक, आर्थिक र राजनीतिक उपलब्धिको स्मरण गर्दै आज यो दिवस विश्वभर विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ ।