लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये ७ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीले अरु दललाई क्लिन स्वीप पार्दै २१ निर्वाचन क्षेत्रमा जित निकालेको छ । २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशमा रास्वपाले २१ क्षेत्रमा निर्वाचन जितेको हो । रास्वपाले ५ निर्वाचन क्षेत्र रहेको रुपन्देही, २ निर्वाचन क्षेत्र रहेको पश्चिम नवलपरासी, ३ वटा निर्वाचन क्षेत्र रहेको दाङ, २ निर्वाचन क्षेत्र रहेको बर्दिया, २ वटा निर्वाचन क्षेत्र रहेको गुल्मी, १ निर्वाचन क्षेत्र रहेका अर्घाखाँची र प्युठानमा अरु पार्टीलाई क्लिन स्वीप पारेको हो ।
त्यस्तै २ निर्वाचन क्षेत्र रहेको पाल्पाको क्षेत्र नं. २, तीन वटा निर्वाचन क्षेत्र रहेको कपिलबस्तुको क्षेत्र नं. १ र २, तीन वटा निर्वाचन क्षेत्र रहेको बाँकेको १ र ३ मा समेत रास्वपाका उम्मेद्वारले जित निकालेका छन् ।
लुम्बिनीमा नेपाली काँग्रेसले २ वटा निर्वाचन क्षेत्र, नेपाली कम्युनिष्ट पार्टीले २ वटा निर्वाचन क्षेत्र र नेकपा एमालेले एउटा निर्वाचन क्षेत्रमा मात्रै जित निकालेका छन् । नेपाली काँग्रेसले पाल्पाको क्षेत्र नं. १ र कपिलबस्तुको क्षेत्र नं. ३ मा जित निकालेको हो ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले एक एक निर्वाचन क्षेत्र रहेको पूर्वी रुकुम र रोल्पामा जित निकालेको छ भने एमालेले तीन वटा निर्वाचन क्षेत्र रहेको बाँके क्षेत्र नं. २ मा जीत निकालेको छ ।
५ वटै क्षेत्रमा निर्वाचन जितेकाे रास्वपाबाट रुपन्देही १ मा सुनिल लम्साल, क्षेत्र नं. २ मा शुलभ खरेल, ३ मा डा. लेखजंग थापा, ४ मा कन्हैया बनियाँ र क्षेत्र नं. ५ मा तौफिक अहमद खान निर्वाचित भएका छन् । त्यस्तै रास्वपाबाट पश्चिम नवलपरासीको क्षेत्र नं. १ मा विक्रम खनाल र २ मा नगेन्द्र गुप्ता, दाङ्काे तीनवटा क्षेत्रमा रास्वपा उम्मेद्वारहरु क्रमश: देवराज पाठक, विपिनकुमार आचार्य र कमल सुवेदी, २ निर्वाचन क्षेत्र रहेकाे बदिया १ मा ठाकुरसिंह थारु र २ मा श्रीधर पोखरेल, दुई निर्वाचन क्षेत्र रहेकाे गुल्मी १ मा सागर ढकाल र २ मा गाेविन्द पन्थी, एक निर्वाचन क्षेत्र रहेकाे प्युठानमा सुशान्त वैदिक तथा अर्घाखाँचीमा हरिप्रसाद भुसालले जित निकालेका छन् ।
त्यस्तै २ निर्वाचन क्षेत्र रहेको पाल्पाको क्षेत्र नं. २ मा रास्वपाका माधव थापा, तीन वटा निर्वाचन क्षेत्र रहेको कपिलबस्तुमा रास्वपाबाट १ मा मोहन आचार्य र २ मा विक्रमसिंह थापा, तीन वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा रास्वपाबाट १ मा सुरेशकुमार चौधरी र ३ मा खगेन्द्र सुनार निर्वाचित भएका छन् ।
त्यसैगरी नेपाली काँग्रेसले जितेकाे पाल्पा २ मा सन्दिप राना र कपिलबस्तु ३ मा अभिषेकप्रताप शाह, नेपाली कम्युनिष्ट पार्टीले जितेकाे रुकुम पुर्वमा पार्टी संयाेजक पुष्पकमल दाहाल प्रचण्ड र राेल्पामा वर्षमान पुन तथा एमालेले जितेकाे बाँके २ मा माेहम्मद ईस्तियाक राई विजयी भएका छन् ।
लुम्बिनी प्रदेशमा निर्वाचन लडेका एमाले उपाध्यक्ष विष्णु पौडेल, अर्का उपाध्यक्ष गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, नेता प्रदीप ज्ञवाली, नेकपाका नेता पूर्वमन्त्री सोमप्रसाद पाण्डे, नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री किशोरसिंह राठौर, काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, एमाले केन्द्रीय सदस्य सूर्य थापा, काँग्रेसका डा. गोविन्द पोखरेल, जसपा नेपालका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लालगायत हेभिवेट नेताहरु पराजय व्यहाेरेका छन् ।