तीन दिनकाे माैषम पूर्वानुमान : मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

1.3K

तीन दिनकाे माैषम पूर्वानुमान : मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीसहित उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भू-भाग नजिकको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ । यसका कारण देशका विभिन्न स्थानमा बादल लाग्ने र केही स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा सामान्यतया बदली रहेको छ भने बाँकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ । बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ । तराईका केही स्थानमा भने हुस्सु लागेको छ ।
आज कोशी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । त्यसैगरी मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
यसैगरी बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक-दुई स्थानमा पनि हल्का वर्षा हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
मौसमको बदलिँदो अवस्थालाई ध्यानमा राख्दै सम्भावित वर्षा, चट्याङ र हिमपातबाट हुन सक्ने जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।