इरानले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गर्दै आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकलाई उक्त क्षेत्रका १४ देश छाड्न आग्रह गरेको छ । सुरक्षा जोखिम बढेको भन्दै अमेरिकी प्रशासनले यस्तो अपिल गरेको हो ।
यसअघि बग्दादस्थित अमेरिकी दूतावास नजिकै क्षेप्यास्त्र खसेपछि अमेरिकाले आफ्ना नागरिकलाई तत्काल इराक छाड्न चेतावनी दिएको थियो । दूतावासले जारी गरेको सूचनामा इरान समर्थित मिलिसिया समूहबाट गम्भीर खतरा उत्पन्न हुन सक्ने भन्दै इराकमै बसिरहेका नागरिकलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरिएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाले ओमानमा रहेका गैर-आकस्मिक सरकारी कर्मचारी र उनीहरूका परिवारलाई पनि बाहिरिन निर्देशन दिएको छ ।
यता, स्विट्जरल्यान्डले भने अमेरिकी सेनाका दुई उडानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न दिने अनुरोध अस्वीकार गरेको छ । स्विस सरकारले ‘तटस्थता कानुन’ का कारण द्वन्द्वमा संलग्न पक्षका सैन्य प्रयोजनका उडानलाई अनुमति दिन नसकिने जनाएको हो ।
तर मर्मतसम्भार तथा ढुवानीसँग सम्बन्धित तीनवटा अन्य उडानलाई भने अनुमति दिइएको स्विस सरकारको भनाइ छ ।