दुबईको दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । विमानस्थल नजिकै भएको ड्रोन आक्रमणपछि यात्रु र कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै उडान सेवा केही समयका लागि स्थगित गरिएको दुबईका अधिकारीहरूले बताएका छन् ।
दुबई मिडिया अफिसका अनुसार सोमबार भएको ड्रोन आक्रमणका कारण विमानस्थल नजिकै रहेको इन्धन भण्डारण ट्याङ्कीमा आगलागी भएको थियो । आगो नियन्त्रणका लागि सुरक्षाकर्मी र उद्धार टोली परिचालन गरिएको र अवस्थालाई नियन्त्रणमा ल्याउने प्रयास भइरहेको जनाइएको छ ।
सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै विमानस्थलबाट हुने सबै उडान अस्थायी रूपमा रोकिएको छ । स्थिति सामान्य भएपछि उडान सेवा पुनः सञ्चालन गरिने अधिकारीहरूले बताएका छन् ।
खाडी क्षेत्रमा पछिल्लो समय बढ्दो तनावका कारण सुरक्षा चुनौती पनि बढ्दै गएको छ । फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका-इजरायल-इरान द्वन्द्वपछि मिसाइल तथा ड्रोन आक्रमणका घटनाहरू तीव्र बनेका छन् । यस अवधिमा खाडी क्षेत्रका विभिन्न देशहरूले दुई हजारभन्दा बढी मिसाइल र ड्रोन आक्रमणको सामना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
यी आक्रमणहरू अमेरिकी कूटनीतिक नियोग, सैन्य अड्डा, तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय भवनसम्म लक्षित भएको बताइएको छ ।
विश्वकै अत्यन्त व्यस्त हवाई अड्डामध्ये एक मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२५ मा झण्डै नौ करोड यात्रुले यात्रा गरेका थिए । मध्यपूर्वमा जारी तनावका कारण यस्ता महत्त्वपूर्ण पूर्वाधारहरूमा सुरक्षा जोखिम बढ्दै गएको विश्लेषकहरूले बताएका छन् ।