बुटवलमा विभिन्न क्षेत्रमा उदाहरणीय योगदान दिएका चार जना महिलालाई सम्मान गरिएको छ । ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीले समाजसेवामा सक्रिय चार महिलालाई सम्मान गरेको हो ।
सोमबार बुटवलमा आयोजित कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत कमला नेपाल, बुटवल उपमहानगरपालिका वडा नं. १६ स्थित नरेनापुर आधारभूत विद्यालयमा अध्यापनरत राधा चालिसे, कालिकानगरस्थित एप्रोप्रिएट इञ्जिनियरिङमा कार्यरत प्रिति महतो तथा बस चालक निमा सारुलाई सम्मान गरिएको हो ।
उनीहरूलाई बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, क्लबकी अध्यक्ष सीता श्रेष्ठ तथा लायन्स डिष्ट्रिक्टकी सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर मीना पन्थीले नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
कार्यक्रममा उपप्रमुख अर्यालले विगतमा लैंगिक विभेदविरुद्ध सुरु भएको आन्दोलनका कारण महिलाले संवैधानिक रूपमा समान अधिकार प्राप्त गरे पनि व्यवहारिक कार्यान्वयनमा अझै चुनौती रहेको बताइन् । उनले महिलाले विभिन्न क्षेत्रमा आफ्नो क्षमता प्रमाणित गरिसकेको उल्लेख गर्दै पितृसत्तात्मक सोचका अवशेषलाई चिर्ने जिम्मेवारी महिलाकै काँधमा रहेको धारणा व्यक्त गरिन् ।

क्लबकी अध्यक्ष सीता श्रेष्ठले क्लबले शिक्षा, स्वास्थ्य, वातावरण लगायतका क्षेत्रमा विभिन्न सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताइन् । समाजमा समर्पणभावका साथ सेवा गर्ने महिलालाई थप उत्प्रेरणा दिन सम्मान गरिएको उनले जानकारी दिइन् ।
लायन्स डिष्ट्रिक्टकी सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर मीना पन्थीले संविधानले महिलाका लागि पर्याप्त अधिकार सुनिश्चित गरे पनि त्यसको प्रभावकारी कार्यान्वयनमा अझै चुनौती रहेको बताइन् । उनले महिलाबीच आपसी सम्मान र सहकार्यको संस्कृति विकास गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघकी विष्णु गुरुङले क्यान्सर रोग र त्यसबाट बच्ने उपायबारे जानकारी दिएकी थिइन् भने समर्पण बालगृह बुटवलकी अञ्जु थापाले महिला सशक्तीकरणसम्बन्धी प्रेरणादायी मन्तव्य व्यक्त गरिन् ।
सो अवसरमा लायन्सका पास्ट डिष्ट्रिक्ट गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्ग, लायन्स डिष्ट्रिक्ट ३२५ पी एरिया–४ की चिफ कोर्डिनेटर प्रविना घिमिरे, क्लबकी सचिव सुमित्रा धिताललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम आयोजक लायन्स क्लब अफ बुटवल तिलोत्तमा, लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवी र नेपाल परिवार नियोजन संघको सहकार्यमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षणसम्बन्धी कार्यक्रम पनि सञ्चालन हुँदै आएको जानकारी दिइएको छ ।