चैत १२ मा सांसदको शपथ तयारी

1.3K

चैत १२ मा सांसदको शपथ तयारी

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण चैत १२ गते गर्ने तयारी गरिएको छ । समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम तय भएको छ ।
सोही दिन निर्वाचन आयोगले निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी गरेको छ । प्रतिवेदन बुझाएपछि यसबारे औपचारिक जानकारी संघीय संसद् सचिवालयलाई समेत गराइनेछ ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आयोगबाट प्रतिवेदन प्राप्त हुनेबित्तिकै शपथ कार्यक्रमको मिति सार्वजनिक गरिनेछ । उनका अनुसार चैत ५ गतेसम्म प्रतिवेदन प्राप्त भएमा भोलिपल्ट नै सूचना प्रकाशन गर्ने तयारी छ । शपथ कार्यक्रमबारे राजनीतिक दलहरूसँग आवश्यक छलफलसमेत भइरहेको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दलका रूपमा स्थापित भएका छन् । निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ भने नेपाली कांग्रेस ३८ सिटसहित दोस्रो स्थानमा छ । नेकपा एमाले २५ सिटसहित तेस्रो र नेकपा १७ सिटसहित चौथो दल बनेका छन् ।
यसैगरी, श्रम संस्कृति पार्टी ७ सिटसहित पाँचौं तथा राप्रपा ५ सिटसहित छैटौं दलका रूपमा संसद्मा प्रतिनिधित्व गर्ने भएका छन् । साथै, एक स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन् ।