
काठमाडौँ, फागुन/नेपाल विद्युत प्राधिकरण र एनभिभिएनबीच ८० मेगावाट विद्युत खरिद गर्ने सम्झौता भएको छ। ढल्केबर मुजफ्फरपुर अन्तर्देशीय प्रशारण लाइनबाट अायात गर्ने गरी प्रतियूनिट ३ रुपैयाँ ४४ पैसा भारतीय रुपैयाँ अर्थात् ५ रुपैयाँ ५० पैसामा उक्त विद्युत उर्जा खरिद गरिने भएको हो।नेपालसँग विद्युत व्यापार गर्न भारतले नियुक्त गरेको नोडल एजेन्सी एनपीटीसी मार्फत विद्युत आयात गर्ने निर्णय कार्यन्वयन गर्न भारतबाट आएको टोली र विद्युत प्राधिकरणबीच आज फागुन ३ गते भएको छलफल पछि उक्त सहमति भएको हो। उर्जा सचिव सुमनप्रसाद शर्माको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले र निगमका महाप्रबन्धक ए के मेगुले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।हाल १३२ केभी भोल्टेज स्तरमा चार्ज हुने उक्त प्रशारण लाइनबाट फेब्रुअरी १६ (फागुन ४) देखि १८ (फागुन ६) भित्र ८० मेगावाटसम्म विद्युत लिन सुरु गर्ने र जुन महिनाको अन्त्यसम्म उक्त विद्युत लिइने सम्झाैता पत्रमा उल्लेख गरिएको छ। उक्त विद्युत मुजफ्फरपुर डेलिभरी विन्दुमा प्राप्त हुनेछ।एनभिभिएनले प्राधिकरणलाई सुरुमा प्रतियुनिट ८ रुपैयाँ ८० पैसामा ८० मेगावाट बिजुलीको प्रस्ताव गरेका कारण भारतबाट थप बिजुली नआउने आशंका बढेको थियो । तर एभिभिएनले दर घटाएर ५ रुपैयाँ ५० पैसा पुर्याएपछि विद्युत खरिद सम्झाैता भएको हो।नेपालले भारतबाट विभिन्न विन्दुबाट हाल २ सय ३५ मेगावाट बिजुली आयात गर्दै आएको छ । ८० मेगावाट थपिएपछि भारतबाट आयात हुने बिजुली ३ सय १५ मेगावाट पुग्नेछ ।प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले सुख्खा याममा नेपालको विद्युत उत्पादन अझै घट्ने स्थिति रहेपनि भारतबाट ८० मेगावाट विद्युत आयात भएसँगै लोडसेडिङको समय घट्ने बताए । उनले लोडसेडिङको समय दैनिक २ घण्टाका दरले घट्ने अनुमान गरिएको बताए ।