लुम्बिनीमा सचिवहरूको जिम्मेवारी हेरफेर

1.3K

लुम्बिनीमा सचिवहरूको जिम्मेवारी हेरफेर

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्मचारी व्यवस्थापनदेखि नीतिगत निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको बैठकले बढुवा भएका कर्मचारीहरूको पदस्थापन तथा प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो ।
बैठकले ‘प्रदेश आयोजना बैंक (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२’ स्वीकृत गरेको छ । स्वास्थ्य मन्त्री खेमबहादुर सारुका अनुसार उक्त निर्देशिकामार्फत प्रदेशका प्राथमिकताप्राप्त आयोजना छनोट, व्यवस्थापन र कार्यान्वयनलाई व्यवस्थित बनाउने लक्ष्य राखिएको छ ।
निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको थप जिम्मेवारी विनोद लामिछाने, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवमा नारद गौतम तथा सामाजिक विकास मन्त्रालयको सचिवमा दिवाकर भण्डारीलाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी स्वास्थ्य सेवातर्फ विभिन्न चिकित्सक तथा कर्मचारीहरूको पदस्थापन गरिएको छ । रोशनलाल चौधरीलाई स्वास्थ्य निर्देशनालय राप्ती उपत्यकामा प्रमुख जनस्वास्थ्य प्रशासक, डा. राजेन्द्रकुमार गिरीलाई प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र रुपन्देहीमा प्रमुख जनस्वास्थ्य प्रशासकका रूपमा जिम्मेवारी दिइएको छ ।
यस्तै, डा. मोहम्मद नुरुल होदा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, डा. पदमराज अधिकारी गुल्मी जिल्ला अस्पताल तथा डा. शकुन्तला कुमारी रामपुर अस्पतालमा प्रमुख कन्सल्टेन्ट मेडिकल जनरलिस्टका रूपमा पदस्थापन भएका छन् ।
बुटवल प्रादेशिक अस्पतालमा डा. अनूपा थापा प्रमुख कन्सल्टेन्ट (स्त्रीरोग तथा प्रसूति), डा. भुवन पौडेल प्रमुख कन्सल्टेन्ट सर्जन तथा डा. सुरेन्द्र कुँवर प्रमुख कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्टका रूपमा खटाइएका छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालमा डा. पुष्पराज जोशी (जनरल फिजिसियन), डा. कृष्णहरि सुवेदी (बालरोग विशेषज्ञ), डा. प्रभात पोख्रेल (छाला रोग विशेषज्ञ) र डा. गोपालप्रसाद ज्ञवाली (अर्थोपेडिक सर्जन) लाई प्रमुख कन्सल्टेन्टका रूपमा जिम्मेवारी दिइएको छ ।
यसैगरी प्रदेश इन्जिनियरिङ सेवातर्फ अनिल मरासिनीलाई यातायात पूर्वाधार निर्देशनालयमा सुपरिटेन्डेन्ट इन्जिनियर तथा प्रदेश वन सेवातर्फ ईश्वरीप्रसाद पौडेललाई वन महानिर्देशकको जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ ।